काठमाडौँ, ५ असोजः जेनजी प्रदर्शनका क्रममा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा भएको क्षतिप्रति निजी क्षेत्रले गहिरो दुःख व्यक्त गर्दै हार नमान्ने प्रतिबद्धता जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग आज भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले आफूहरू थप सबल भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तोडफोड र आगजनीका कारण निजी क्षेत्रले ठूलो धक्का खेपेको बताए ।
प्रारम्भिक अनुमानअनुसार रु ८० अर्बदेखि रु एक खर्बसम्मको क्षति भएको छ । यद्यपि हामी निराश भएर बस्दैनौँ, फेरि उठ्छौँ, अध्यक्ष ढकालले भने । विसं २०४६ यता कुनै पनि सरकारले निजी क्षेत्रको वास्तविक आवश्यकता र पीडा बुझ्न नसकेको उनले टिप्पणी गरे।
राजनीतिक दल र सर्वसाधारणले हेर्ने दृष्टिकोण अझै पनि सुधारिएको छैन । हामीलाई केवल नाफा कमाउने प्रवृत्तिका रूपमा होइन, रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र अर्थतन्त्रलाई सबल बनाउने क्षेत्रका रूपमा बुझ्नुपर्छ, अध्यक्ष ढकालले भने । उनका अनुसार हरेक आन्दोलनमा व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरी तोडफोड र आगजनी हुने गरेको छ । यसपटकको आन्दोलनका क्रममा जेनजी अभियानसँग जोडिएका व्यक्तिहरु नभई अरुले लुटपाट र आगजनी गरेको हुनसक्ने उनले आशङ्का व्यक्त गरे ।
यो केबल आन्दोलनकै प्रभाव होइन, नियतबस गरिएको लुटपाट र आगजनी हो । यस्ता कार्यमा संलग्नलाई अनुसन्धान गरेर तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ”, अध्यक्ष ढकालले भने ।
महासङ्घले हालको घटनाले निजी क्षेत्रलाई शून्य बनाइदिएको उल्लेख गर्दै राज्यले तत्काल ठोस कदम चाल्नुपर्ने माग राखेको छ । साथै, व्यवसायीहरूले संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर सम्बन्धी कानुनी प्रावधानलाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिएका छन् । गत वर्षमात्रै बैंक तथा वित्तीय संस्थाले करिब ७० अर्ब रुपैयाँ खर्च गरेका छन् । तर खर्च गर्ने क्षेत्रमा अनावश्यक प्रतिबन्धका कारण वास्तविक आवश्यकतामा लगानी गर्न सकिएको छैन । अब सुरक्षा क्षेत्रमै पनि सिएसआर खर्च गर्न सकिने व्यवस्था मिलाउनुपर्छ, अध्यक्ष ढकालले भने ।
छलफलका क्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका प्रत्येक चरणमा निजी क्षेत्र सबैभन्दा बढी मारमा पर्ने गरेको उल्लेख गरे । हरेक आन्दोलनमा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्छ । तर क्षति पु¥याउनेलाई कानुनी दायरामा ल्याउने प्रावधान अझै प्रभावकारी बनेको छैन । यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल बढाउन विशेष सहुलियत र सहुलियतपूर्ण कर्जाको व्यवस्था आवश्यक छ”, उनले भने ।
अध्यक्ष पाण्डेले क्षतिको क्षतिपूर्ति सहज बनाउन बिमा भुक्तानी प्रणालीलाई चुस्त बनाउनुपर्नेमा पनि जोड दिए । निजी क्षेत्रका लागि लक्षित गरी सरकारले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन रणनीति तयार पारी अघि बढ्नुपर्ने तथा सुशासन र सार्वजनिक सुरक्षाको प्रत्याभूति हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले हाल देशभर करिब साढे नौ लाख लघु र साना उद्योग रहेको जानकारी दिादै तीमध्ये पाँच लाखजति उद्योग अझै नवीकरण हुन नसकेको बताए । त्यस्ता उद्योगलाई नवीकरणका लागि छुट सुविधा दिन उनले माग गरे ।
नवीकरण हुन नसकेका साना र मझौला उद्योगलाई एकपटकका लागि नवीकरण शुल्कमा छुट दिनुपर्छ । अहिले पनि ठूलो सङ्ख्यामा उद्योग अनौपचारिक रूपमा सञ्चालनमा छन् । राज्यले सहुलियत दिए तिनको दर्ता र नवीकरण सहज हुन्छ, अध्यक्ष सिंहले भने । उद्योग–व्यवसाय सञ्चालनका लागि आर्थिक रूपमा सबल हुनुपर्ने औँल्याउँदै उहाँले बिमाको दायरा बढाउनुपर्ने सुझाव दिनुभयो ।
हरेक कठिनाइमा निजी क्षेत्र सरकारसँगै उभिएको छ । हामीले सङ्कटमा पनि सरकारलाई सहयोग गरेका छौँ । तर अब सरकारले पनि घरेलु, लघु र साना उद्योगलाई ठूला उद्योगजस्तै दृष्टिकोणले मात्र नभई छुट्टै प्राथमिकता दिएर कर्जा, व्याजदर र सहुलियतका सुविधा दिनुपर्छ, उनले भने । साना उद्योगलाई लक्षित नीतिगत कार्यक्रम ल्याउनसके रोजगारी सिर्जना र स्थानीय उत्पादन वृद्धि दुवैमा योगदान पुग्ने अध्यक्ष सिंहले विश्वास व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले उद्योग–व्यवसायमा आक्रमण हुनु दुःखद् भएको बताउँदै सम्पत्तिको सुरक्षा र लगानीमा विश्वास जगाउन सरकारले विशेष एकीकृत सुरक्षा योजना ल्याउनुपर्ने बताए । अहिलेको अवस्थाले लगानीकर्ता मात्र नभई उद्यमीहरूको मनोबलमा पनि ठूलो चोट पुगेको उनको भनाइ थियो । अध्यक्ष अग्रवालले आयकर र मूल्य अभिवृद्धि कर भ्याट मा छुट दिनुपर्ने, सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न ‘एकीकृत आर्थिक योजना’ आवश्यक रहेको बताए ।
निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले हालको आन्दोलनलाई निराशा र भ्रष्टाचारविरुद्धको प्रतिक्रियाका रुपमा चित्रित गर्नुहुँदै अहिलेको सरकारले निर्वाचनसँगै भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि पहल गर्नुपर्ने बताए । अहिलेको बजेटमा परेका केही योजना खारेज गरेर स्रोत पहिचान गर्ने अर्थमन्त्रीको योजना सकारात्मक रहेको उल्लेख गर्दै उहाँले उपभोक्ता समिति खारेज गरिनुपर्ने सुझावसमेत दिए ।