२५ आश्विन २०८२, शनिबार
कोशी मुख्‍य समाचार समाचार

प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग

झापा, ५ असोजः जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका जिल्लाका प्रहरी भवनको पुनःस्थापनाका लागि समुदायस्तरबाट सहयोग जुट्न थालेको छ । कोडिभ–१९ का बेला स्थापना भएको ‘एकका लागि एक अभियान’ले प्रहरी चौकीको पुनःस्थापनामा रु १० लाख सहयोगको घोषणा गरेको छ । अभियानका संयोजक महेन्द्र गिरीले ध्वस्त भएका प्रहरी कार्यालयहरुको पुनःस्थापनाका लागि रु १० बराबरको कम्प्युटर, ल्यापटप, फर्निचर र निर्माण सामग्री किनेर उपलब्ध गराइने बताए ।

यसैगरी, मेचीनगरका उद्यमी आनन्द खड्काले जेनजी आन्दोलनमा ध्वस्त भएको धुलाबारी ट्राफिक प्रहरी पोष्ट निजी खर्चमा पुनःनिर्माण गरिदिनुभएको छ । उनले मेचीनगरकै ज्यामिरगढी प्रहरी चौकी र इटाभट्टा ट्राफिक प्रहरी पोष्टकोसमेत निर्माण गरिदिने बताएका छन् ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा आगजनीमा ध्वस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय र अनारमनी इलाका प्रहरी कार्यालयको भग्नावशेष सरसफाइ गर्ने र मर्मत सम्भारकार्यमा स्थानीय युवा समूह जुटेका छन् ।

विर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाइँले विभिन्न सामाजिक संस्थामा आवद्ध २०० भन्दा बढी युवा केही दिनदेखि दुबै प्रहरी कार्यालयको सरसफाइ र सम्भारमा जुटिरहेको बताए । जलेका सवारी साधनका अवशेष पन्छ्याउने र कोठा सफा गरेर भवनमा रङगरोगन लगाउने कार्य युवाकै स्वस्फूर्त सहयोगमा भइरहेको छ ।

भदौ २४ गते विर्तामोडमा जेनजी समूहको प्रदर्शन अनियन्त्रित भएपछि दुबै प्रहरी कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका थिए भने प्रहरीका हातहतियार लुटिएको थियो । हतियार नेपाली सेनाले फिर्ता लिइसकेको छ ।

झापामा जेनजी आन्दोलनका क्रममा ८८ वटा प्रहरी इकाईमा आगजनी र तोडफोड भएको थियो । प्रहरी इकाई ७३ वटा र ट्राफिक युनिट १५ वटामा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
उनका अनुसार आगजनीका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनी, इलाका प्रहरी कार्यालय दमक, इलाका प्रहरी कार्यालय सुरुङ्गा, वडा प्रहरी कार्यालय भद्रपुर, सीमा प्रहरी चौकी पृथ्वीनगर, प्रहरी चौकी ज्यामिरढी, अस्थायी पोष्ट विर्तामोड बसपार्क, प्रहरी चौकी बिर्ताबजार, मेची पुल प्रहरी बिट भद्रपुर र पुरानो ट्राफिक प्रहरी कार्यालय भवन पूर्ण रुपमा जलेर क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय बुधबारे, प्रहरी चौकी बाघखोर, इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, इलाका प्रहरी कार्यालय झिलझिले, प्रहरी चौकी केर्खा, अस्थायी प्रहरी चौकी गरामनी, प्रहरी चौकी तोपगाछी, प्रहरी चौकी शनिश्चरे, इलाका प्रहरी कार्यालय बनियानी, प्रहरी चौकी चारआली र अस्थायी प्रहरी पोष्ट इटाभट्टामा आन्दोलनकारीले तोडफोड गरी आंशिक क्षति पु¥याएको उनले जानकारी दिए ।

आगजनी र तोडफोड गरिएका भवनमा प्रहरी बस्ने अवस्था नभए तापनि जिल्लाका सबै क्षेत्रमा प्रहरीले पूर्ववतः परिचालन भइसकेको जिल्लाका प्रहरी प्रमुख लिम्बूले बताए । उनले प्रहरीले दाताको नगद सहयोग नलिने जनाउँदै पुनःस्थापनाका लागि समुदायबाट स्वस्फूर्त रुपमा भइरहेको सरसफाइ र मर्मतसम्भारमा स्थानीयस्तरबाटै समन्वय भइरहेको बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि