Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

युवा पुस्ताको सीप र ज्ञान सदुपयोग गरी समृद्धिको यात्रामा लाग्न पूर्वराष्ट्रपति भण्डारीको जोड

रातो कागज
1 मिनेट अघि

काठमाडौँ, ३ असोजः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवयुवा र युवाहरुमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदान फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको उल्लेख छ ।

यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलिसमेत अर्पण गरेका छन् । साथै गत भदौ २३ गते नयाँ पुस्ताका युवा विद्यार्थीहरुले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाको माग रोखर गरेको प्रदर्शनका क्रममा अमूल्य जीवन गुमाउने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

अब देश हाँक्ने जिम्मेवारी नवयुवा र युवा पुस्तासँग रहेको छ । युवाहरुमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा लगाउनु अहिलेको आवश्यकता हो । युवाहरुको माग, दबाव र स्वाभाविक आक्रोशलाई सकारात्मक रुपमा ग्रहण गरी स्वयं युवा, देश र जनताको हितमा सदुपयोग गर्न सक्नु सबैको दायित्व हो”, पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।

मुलुकलाई राजनीतिक अस्थिरता र अन्यौलतातर्फ धकेलिन नदिनका लागि मिहेनत गर्नुपर्ने उत्तिकै जिम्मेवारी राजनीतिक दलहरुको पनि रहेको उल्लेख गर्दै उनले देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता अटल राख्न सबै जिम्मेवार पक्षहरुको परिस्थितिको सूक्ष्म विश्लेषण पक्षपोषक र राष्ट्रियता प्रवद्र्धक भएकाले जस्तोसुकै कठिन परिस्थितिमा पनि सही निर्णय लिन चुक्नु हुँदैन भनेका छन् । वर्तमान परिस्थितिमा दलहरु बीचको आपसी प्रतिस्पर्धालाई थाती राख्दै, मनोमालिन्यता र तीक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का बन्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीले जोड दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया