Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रामेछापमा यसरी मनाइयो संविधान दिवस

रातो कागज
2 मिनेट अघि

रामेछाप । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

दिवस मूल आयोजक समितिको आयोजनामा भएको ¥याली मन्थलीको मदन–आश्रित चोकबाट सुरु भई बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो ।

जिल्ला समन्वय समितिमा आयोजना गरिएको कार्यक्रममा रामेछाप बारका अध्यक्ष यादव दाहालले नेपालको संविधान २०७२ र यसका विशेषता बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि जिल्ला स्थिति राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरूले धारणा राखेका थिए ।

कार्यक्रमकी अध्यक्ष जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले अहिले देश जटिल सङ्क्रमणको अवस्थामा रहेको बताउँदै संविधान र व्यवस्थाको संरक्षणको लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

उनले सबै आफ्नो ठाउँबाट सच्चिएर अघि बढ्नु पर्नेमा उनले जोड दिइन् । देशमा सङ्कट आउँदा पनि राम्रो हुँदा पनि कुनै न कुनै रूपमा सबै जिम्मेवार हुने बताउँदै उनले सबैलाई सो भावनाका साथ अघि बढ्न आग्रह गरिन् ।

अहिलेका उपलब्धि यही संविधानले ल्याएको बताउँदै उनले त्यसको संरक्षण गर्न सबै लाग्नु पर्ने बताइन् । निक्कै कष्टका साथ यो व्यवस्था ल्याइएकोले यसलाई जोगाउन सबैको दायित्व हुने उनको धारणा छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान मध्येको एक भएको बताउँदै संविधान कार्यान्वयनमा कहाँ कहाँ कमजोरी भए त्यसको समीक्षा गरेर अघि बढ्नु पर्नेमा जोड दिए । को कहाँ चुक्यो त्यो मनन गरेर सुधार्नु पर्ने उनको धारणा छ ।

कार्यक्रममा जनप्रतिनिधिहरू, कर्मचारी, राजनीतिक दलका नेताहरू तथा नागरिक अगुवाको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया