Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

संविधान दिवसमा एमाले नेताहरूको प्रतिबद्धता : आलोचना स्विकार, सुधारमा अग्रसर

रातो कागज
2 मिनेट अघि

काठमाडौं । नेकपा (एमाले) ले संविधान दिवसका अवसरमा संविधानको महत्वमाथि चर्चा गर्दै आन्तरिक समीक्षा, राजनीतिक एकता र असन्तुष्टिको कारणप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई आत्ममूल्यांकन र राष्ट्रिय एकताको दिवसको रूपमा मनाउनुपर्ने धारणा राखे ।

महासचिव शंकर पोखरेलले पार्टी आलोचना र समीक्षा गर्नबाट कहिल्यै पछि नहटेको स्पष्ट पारे । ‘समीक्षाबाट भाग्ने पार्टी होइन नेकपा एमाले,’ उनले भने, ‘हरेक जटिल मोडमा इतिहास र कामको समीक्षा गर्दै त्यसकै जगमा पार्टीलाई अगाडि बढाउने प्रयास गरेका छौं ।’

उनले अहिले देखिएको असन्तुष्टि र आक्रोशको जडमा युवावर्ग, सुकुम्बासी र प्रवासी जनताबीच बढ्दो दूरी रहेको स्वीकार गर्दै ती वर्गको भावना समेट्न नसकिएको कमजोरीप्रति संकेत गरे । ‘महशुस ग¥यौं, योजना बनायौं, तर जीवन्त बनाउन सकिएन,’ उनले भने। ‘आजको असन्तोष ती योजनालाई व्यवहारमा नल्याउन सक्दाको परिणाम हो भन्ने कुरा बुझ्न जरुरी छ ।’

महासचिव पोखरेलले विशेष गरी युवाहरुलाई राजनीति संग जोड्ने उद्देश्यसहित एमालेले मिशन सुरु गरे पनि त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको उल्लेख गरे । उनले आगामी दिनमा पार्टी युवावर्गसँग पुनः गहिरो सम्पर्कमा जाने स्पष्ट संकेत दिए ।

यसै अवसरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई नेपाली जनताको संकल्प र राष्ट्रिय एकताको प्रतीकका रूपमा स्मरण गरे । ‘यो दिवस हाम्रो एकताको दिवस हो,’ उनले भने, ‘जसले देशलाई नयाँ उचाइमा पु¥याउने सपना बोकेको छ ।’

ईश्वर पोखरेलले विगतमा एमालेले अनेक चुनौती र षड्यन्त्र सामना गर्दै यहाँसम्म आइपुगेको बताउँदै अहिले देखिएको अशान्ति र अस्थिरताको अवस्थामा पनि धैर्य, एकता र अग्रगमन आवश्यक रहेको बताए । ‘हामी शान्त तलाउमा डुंगा चलाएर यहाँसम्म आएका होइनौं,’ उनले भने, ‘प्रत्येक कालखण्डमा चुनौतीको सामना गर्दै अघि बढेका हौं ।’

दुवै नेताले संविधानको रक्षा, युवालाई समावेश गर्ने रणनीति र समसामयिक असन्तुष्टिको कारणलाई सुधारको अवसरको रूपमा उपयोग गर्दै पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया