Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

रातो कागज
2 मिनेट अघि

बाजुरा । जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ । बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो ।

कारागार बाजुराको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया भइसकेकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्न थालिएको जिल्ला कारागार बाजुरामा प्रमुख जेलर अनिलकुमार तिवारीले बताए ।

पहिलो चरणमा १९ कैदीलाई नौवस्ता कारागार स्थानान्तरण गरिएको उनको भनाइ छ । अन्य बाँकी सबै कैदीबन्दीहरुलाई दसैँ अगाडि नै स्थानान्तरण गर्ने तयारी भइरहेको जेलर तिवारीले बताएका छन् ।

कैदीलाई नौवस्तामा र थुनुवालाई अछाम जिल्ला कारागार सार्ने प्रक्रिया भइरहेको छ । दसैँ अगाडि नै सबै कैदीबन्दीहरुलाई स्थानान्तरण गरेर दसैँ लगत्तै भवन शिलान्यास गरी निर्माण कार्य अगाडि बढाइने कारागार बाजुराले जनाएको छ ।

२०३७ सालमा निर्माण भएको कारागार बाजुराको भवन झण्डै ४५ वर्ष वर्ष पुगिसक्दा बल्ल नयाँ भवनको लागी काम सुरू हुने भएको हो ।

नयाँ भवन नहुँदा क्षमता भन्दा बढि कैदीबन्दी राख्नुपर्ने बाध्यता थियो । २५ जना कैदीबन्दी क्षमता भएको कारागारमा करिब ६५ जना कैदी राखिएको थियो ।

सुविधा सम्पन्न महिला पुरुष दुवैका लागि ७५ जना कैदीबन्दी बस्ने क्षमता भएको भवन निर्माण हुने भएको हो । कारागारको नयाँ भवन निर्माणका लागि यहीँ भदौ १९ गते ५ करोड ९८ लाख ४८ हजार ४ सय ९८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

उक्त भवन निर्माणको जिम्मा डिबी बिएन एस जेभीले लिएको छ । २०८३ फागुन ३० गतेसम्म कारागारको भवन निर्माण कार्य सम्पन्न गरी सक्ने गरी जेभीले सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीसँग ठेक्का सम्झौता गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया