रातो कागज

काठमाडौँ, २९ भदौः सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरण लगायत गाडीहरूको विवरण निकाल्ने तयारी गरेको छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आज मन्त्रालयमा बसेको बैठकले गत मङ्गबार ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० वटा गाडी जलेर खरानी भएका, केही गाडीहरू तोडफोड भएका, कार्यालयका उपकरण ताथ समानहरू चोरी भएका बताउँदै बाँकी क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए ।
सिंहदरबारका अधिकांश भवन आगलागीबाट जले पनि सहरी विकास मन्त्रालय भने जोगिएको छ, तर यहाँका समानहरू चोरी भएका छन् । गाडी जलेर सबै नष्ट भएका छन् । हामी कार्यालयसम्म पैदल हिँडेर आएका हौँ”, उनले भने, “मन्त्रालयले तीन दिनभित्र क्षतिको विवरण निकाल्नेछ । आगामी दिनमा शोकलाई शक्तिमा बदल्दै कसरी अगाडि बढ्ने भन्ने तयारी पनि गरिरहेका छौँ ।
सचिव सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन् । अब कहाँ बसेर काम गर्ने भन्ने विषयमा अन्योल रहेको उनको भनाइ छ । “मन्त्री क्वाटरसहित मन्त्रालयद्वारा निर्माण सम्पन्न भएका भवनहरूको पनि केकति क्षति भएको छ, सङ्कलन गर्नेछौँ । आज भने हामी कसरी अगाडि बढ्ने छलफल गर्ने, सरसफाइ गर्नेलगायत कार्य गरेका छौँ”, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया