रातो कागज

सिरहा, २९ भदौः हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बस्नुभएको छ । छेउमै जलेश्वरीदेवी ९विजयकी आमा० उसैगरी टोलाइरहनुभएको छ । शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उहाँको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी पुस्ता’ आन्दोलनमा गत मङ्गलबार संसार छाडिसकेका छन् ।
मन बेचैनीले भरिएको छ । अनुहारमा एकैचोटी अनेकन कुरा खेलिरहेको प्रष्ट देखिन्छ । आशा, डर अनि थोरै शङ्का । गाउँमा विजयबारे आएको खबर आधामात्र हो । “गोली लागेको रे, तर उपचार भइरहेको छ”, नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो । तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि कयौँ भइसकेको छ ।
घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौँडामा बस्दै आउनुभएकी विजयकी दिदी काठमाडौँ पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहनुभएको छ । “भाइलाई आइसीयूमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा हुनुहुन्न । होसमा आएपछि खबर गर्छु ।”
सत्ताइस वर्षीय विजय चौधरी, लहान–१५ सिमलटोलका बासिन्दा हुन् । ग।त मङ्गलबार काठमाडौँको बानेश्वरमा ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । त्यही ठाउँमा ढले । साथीले उनलाई तत्काल सिभिल अस्पताल लगे, तर त्यसबेला विजयको प्राण गइसकेको थियो । घटनाको पुष्टि हुँदै जाँदा, विजयको शव शिक्षण अस्पतालको शवगृहमा पुगिसकेको थियो । यता गाउँमा चाहिँ सत्य लुकाइएको थियो ।
पाँच वर्षदेखि काठमाडौँमा ‘हाउसवायरिङ’को काम गर्दै आएका विजय गत साउनमा गाउँमा रोपाइँ सकेर १५ दिनअघि मात्र श्रीमती उर्मिला र चार वर्षकी छोरीसहित फेरि राजधानी फर्किएका थिए । आमाबुबाको औषधि, घरखर्च, बालबालिकाको पढाइलगायत सबै कुरा विजयको कमाइमै निर्भर थियो । तर जसको आशामा घर चलेको थियो, उनै विजय अब फर्कने छैनन् ।
भाइलाई गोली लागेको खबर पाएपछि हेटौँडामा रहेकी दिदी सुशीला सोही साँझ काठमाडौँ पुग्नुभयो । उहाँले राजधानीका दर्जनौँ अस्पताल चहार्नुभयो । चौबीस घण्टापछि बल्ल सार्वजनिक सूचीमा भाइको नाम फेला पार्नुभयो । शिक्षण अस्पताल पुगेर भाइको शव पहिचान गर्नुभयो । त्यसपछि विक्षिप्त बन्नुभएकी सुशीला बुबाआमालाई सम्हाल्न गाह्रो हुने ठानेर भाइ उपचाररत रहेको झुटा कुरा बताउनुभयो । “छोरीले खबर गरिसकेकी छ, चाँडो निको होस् भनेर भगवान्सँग कामना गरेकी छु”, आमा जलेश्वरीदेवीले भन्नुभयो ।
विजयको दाजु अजय वैदेशिक रोजगारीबाट शनिबार फर्किँदै हुनुहुन्छ । उहाँले नै आमाबुबालाई यो पीडादायी खबर नसुनाउने योजना बनाउनुभएको हो । सायद उहाँलाई लाग्छ, भक्कानिएको आमाबाबुको मन सम्हाल्ने कोही हुने छैनन् । यो खबर सिधै भन्नु आमाको मुटुमाथि चोट हो । गाउँमा अहिले पनि विजयको कोठा खुलै छ । उहाँको श्रीमती अझै अर्धचेत अवस्थामा हुुनुहुन्छ । छोरीले बुझ्ने उमेर छैन । तर आमाको मनमा विजयको पाइला अझै सुनिन्छ– ‘पक्कै आउँछ नि १’
सबैसँग मिलेर बस्नसक्ने उहाँको स्वभाव थियो । लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरी भन्नुहुन्छ, “विजय सधैँ शान्त स्वभावका थिए । कसैसँग झगडा गर्दैनथे । गाउँमा सबैलाई सम्झाइबुझाइ गर्थे ।” उहाँका अनुसार विजय सो दिन साथीसँग सामान किन्न निस्किएका थिए । संसद् भवनअगाडि भीड देखेपछि भिडियो खिचिरहेका थिए । साथीहरूले फर्किन भनेका थिए, त्यसैबेला उहाँलाई गोली लाग्यो ।
गाउँमा अहिले सिङ्गो टोल स्तब्ध छ । तर त्यो स्तब्धताभन्दा गहिरो छ, सत्यलाई लुकाएर गरिएको प्रतीक्षा । आमाबुबा जसको आँखा बाटोमा छ, जसको कान मोबाइलको घण्टीतिर छ, अनि जसको मन आशा र भयको दोधारमा बाँधिएको छ । आमालाई सत्य कहिले बताइने हो, कुनै पत्तो छैन ।
–––
फेसबुकबाट तपाईको प्रतिक्रिया