रातो कागज

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघले जेनजी पुस्ताको माग सम्बोधन गर्ने क्रममा २०७२ को संविधानभन्दा पछाडि फर्कने कुनैपनि प्रयास नगर्न आग्रह गरेको छ ।
आन्दोलनका क्रममा भएको क्षति र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संघले नेपालको संविधानभित्रैबाट निकास खोज्नुपर्नेमा जोड दिएको हो ।
संघका महासचिव प्रवेज आलम अन्सारीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
संघले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारलाई जायज मानेपनि सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालतलगायतका सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र भौतिक संरचनाको क्षतिलाई ‘अत्यन्तै दुःखद र निन्दनीय’ कार्यको रूपमा भत्र्सना गरेको छ। यसैगरी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत अन्य व्यक्तिहरूमाथि भएको भौतिक आक्रमणलाई पनि संघले निन्दनीय भनेको छ।
मुस्लिम संघले देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अगाडि बढाउन सबै पक्षलाई एकजुट हुन आग्रह गरेको छ। संघले वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले चालेको पहललाई स्वागत गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया