Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको अपील

रातो कागज
18 घण्टा अघि

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शान्तिपूर्ण संवाद र सहकार्यमार्फत समस्या समाधान गरी बन्द अवस्थामा पुगेको यातायात सञ्चालनमा ल्याउन अपील गरेको छ ।

जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति महासंघले श्रद्धाञ्जली अर्पण गर्दै मुलुकभर यातायात ठप्प हुँदा दैनिक जनजिवन प्रभावित बनेको बताएको छ ।

महासंघका महासचिव राजेन्द्र बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्ति समेत गम्भीर रूपमा प्रभावित भएको छ।’

यातायात ठप्प हुँदा व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविकामा संकट ल्याएको र सर्वसाधारण नागरिक असाधारण कठिनाइमा परेको पनि महासंघले जनाएको छ।

महासंघले कानूनसम्मत रूपमा कर तिर्ने र रोजगारी सिर्जना गर्ने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानूनी सुरक्षा दिनुपर्ने माग गरेको छ। साथै आन्दोलनका कारण दैनिक नोक्सानी व्यहोर्न बाध्य भएको यस क्षेत्रमा राहत र क्षतिपूर्ति सम्बन्धी व्यवस्था तत्काल गर्नुपर्ने जोड दिएको छ।

जेन जी पुस्ताले उठाएका राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकार, राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गर्दै महासंघले संविधानको रक्षा गर्दै सडक यातायात सञ्चालनमा ल्याउन र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा  व्यक्त गरेका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया