Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जिल्लाका ७१ ठाउँमा पहिरोको उपचार

रातो कागज
4 घण्टा अघि

दमौली तनहुँ, २५ भदौः भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले जिल्लाका ७१ ठाउँमा पहिरो नियन्त्रणका लागि उपचार गरेको छ । पहिरोको जोखिम रहेका ठाउँहरुमा कार्यालयले नियन्त्रणको उपाय अपनाएको हो ।

कार्यालयका प्रमुख दिवाकर पौडेलले पहिरोको जोखिममा रहेका ठाउँहरुको अध्ययन पश्चात् पहिरो नियन्त्रणको काम गरिएको बताउनुभयो । पौडेलका अनुसार ६५ स्थानमा खोला किनार संरक्षण गरिएको छ भने ११ स्थानमा सिचाइँ कुलो संरक्षण गरिएको छ । त्यस्तै १५ वटा पोखरी, तातोपानी कुण्ड र ताल संरक्षणको काम गरिएको पौडेलले बताए । सात स्थानमा पानी मुहान संरक्षण गरिएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा ५० हजार पाँच सय बिरुवा उत्पादन गरी कृषकलाई वितरण गरेको छ । पौडेलका अनुसार चार हजार गोटा बाँसको कल्म कटिङ बिरुवा उत्पादन, वितरण र रोपण गरिएको छ ।

पौडेलका अनुसार आँबुखैरेनी २, ३ मा खहरे खोला संरक्षण, भानु ९ मा रानीपानी खोला नियन्त्रण, शुक्लागण्डकी ११ मा सल्लाघारी पोखरी निर्माण, व्यास ४ मा बागबजार पहिरो संरक्षण तथा बायो इन्जिनियरिङ, ऋषिङ ६ मा ज्वालाखोला किनार व्यवस्थापन, बन्दीपुर ३ मा मालेबगर खेत संरक्षण, भानु ९ मा खहरेखोला तटबन्धन तथा बस्ती संरक्षण, शुक्लागण्डकी ११ मा बरखोला बिरौटा तटबन्धन, व्यास ६ मा अलैचेखोला ठकुरी बस्ती संरक्षण, शुक्लागण्डकी १२ मा अर्साङ्दी सिचाइँ कुलो संरक्षण, ऋषिङ ४ मा साठीमुरे खेत संरक्षणको काम गरिएको छ ।

यस्तै भानु ९ मा तेलकाती खोला तटबन्ध तथा बस्ती संरक्षण, भानु ९ मा धौराली गाउँ पहिरो नियन्त्रण तथा बस्ती संरक्षण, भानु ११ मा कुन्छाफाँट जितपत्र खेत संरक्षण, भानु ३ मा खित्री खोल्सी गल्छी नियन्त्रण, शुक्लागण्डकी ६ मा कुम्लेखोला बगरस्थित खोला नियन्त्रण, देवघाट ५ स्थित गलेश्वर आश्रम संरक्षण, भानु ७ स्थित महखोला नौबिसे कुलो मर्मत, शुक्लागण्डकी ११ स्थित सल्लाघारी पोखरी निर्माण, भिमाद ९ स्थित पाङ्मा पहिरो नियन्त्रण, भिमाद ३ स्थित भलाई गैह्रा जनहित मार्ग संरक्षण, घिरिङ ३ स्थित खिलाबस्ती संरक्षण, देवघाट ५ स्थित देवघाट कल्पवाल त्रिशुली पहिरो नियन्त्रण र भानु ९ स्थित काली बगैँचा खेलकुद मैदान संरक्षणको काम गरिएको पौडेलले उल्लेख गरे । पौडेलका अनुसार यी कार्यक्रमबाट दुई हजार नौ सय ६१ जना लाभान्वित भएका छन् ।

कार्यालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुबाट चार हजार चार सय २१ जनाले रोजगारी पाएका छन् । पौडेलका अनुसार गल्छी तथा पहिरो उपचारमा एक हजार सात सय ४६, खोला किनार संरक्षणमा एक हजार पाँच सय ३३, सिचाइँकुलो संरक्षणमा तीन सय ३७, पोखरी निर्माणमा सात सय ५० र आकस्मिक जल उत्पन्न प्रकोपमा ५५ जनाले रोजगारी पाएका छन् ।

कार्यालयले भू उपयोग विकास योजना तर्जुमा, पानी र सेडिमेण्ट व्यवस्थापन, प्राकृतिक प्रकोप रोकथाम, पानीजन्य विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, एकीकृत पानी स्रोत संरक्षण, भूमि उत्पादकत्व संरक्षण, पहिरोहरुको व्यवस्थापन सम्बन्धी योजना तयारी र कार्यान्वयन, विकासका पूर्वाधार संरक्षण लगायतका काम गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया