रातो कागज

देउखुरी दाङ, २४ भदौ : जेनजी आन्दोलन दोस्रो दिन सोमबार दाङको घोराही र तुलसीपुरका सरकारी कार्यालय तथा राजनीतिक दलका भवनमा आगजनी र तोडफोड गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका, मालपोत, उच्च अदालत, आन्तरिक राजस्व, इलाका प्रशासन, नगर विकास समिति र कारागारसहितका सरकारी कार्यालयमा आगजनी गरिएको छ । एमाले, कांग्रेस र माओवादीका पार्टी कार्यालय पनि ध्वस्त पारिएका छन् । कारागारका बन्दीसमेत भगाइएको छ ।
प्रदर्शनकारीले एमाले महासचिव शङ्कर पोखरेल, नेता कोमल वली, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कांग्रेस नेता गेहेन्द्र गिरी, पूर्वमन्त्रीहरू हिराचन्द्र केसी र दीपक गिरीको घरमा समेत आगजनी तथा तोडफोड गरेका छन् ।
सुरुआतमा शान्तिपूर्ण देखिएको प्रदर्शन दिउँसोदेखि हजारौँको सहभागितासहित हिंसात्मक बनेको हो । प्रहरी नियन्त्रण बाहिर देखिएको यस घटनामा घोराहीमा घरेलु कार्यालय, मालपोत कार्यालय, शिक्षा समन्वय समिति, जिल्ला समन्वय समिति, नेपाल बार एसोसीयसन, जिल्ला अदालत, घोराही उपमहानगरपालिका, जिल्ला ट्राफिक कार्यालयलगायतका कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया