रातो कागज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राखि सुधार र विस्तारका कार्यहरु तत्काल अगाडि बढाउने जानकारी दिएको छ ।
लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा आज(आइतबार)बोर्डको कार्यालयमा लगानीकर्ताहरुको २२ बुँदे माग पत्र बुझ्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दोस्रो बजारका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले भने, ‘सुरुदखि नै मेरो धारणा के हो भने दोस्रो बजार पहिलो प्राथमिकता हुनुपर्छ भन्ने नै हो । मेरो पहिलो प्राथमिकता दोस्रो बजार हो । खासगरी साना लगानीकर्ताहरुले जुन भोग्नुपर्ने समस्या छ त्यसलाई बेवास्ता गर्न सक्दिन । कति आधिकारिक कम्पनीहरु, निवेदक कम्पनीहरुको पनि आफ्नो आवश्यकता छ पुँजी सङकलनको लागि र यो नै माध्यम पनि हो । त्यो जरुरी छ । तर यी दुई वटालाई सन्तुलनमा राखेर अगाडि बढ्नुपर्छ भन्नेमा म स्पष्ट छु ।’
अध्यक्ष श्रेष्ठले आफूले सँधै लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै आएको बताए ।
‘यहाँहरुसहित समस्त बजार लगानीकर्ताहरु मात्र नभई कम्पनीहरुको भावना बुझेको छु । बोर्डको कुर्सीमा आइसकेपछि मैंले सँधै लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै आएको छु । यहाँहरुले उठाउनुभएको कुरामा आफंैपनि चिन्तित छु,’ उनले भने ।
लगानीकर्ताले सबै सूचीकृत कम्पनीहरुको संस्थापक हिस्सेदारी ५१ प्रतिशत कायम गरिनपर्ने, ब्रोकरमार्फत मार्जिन ट्रेन्डिङ तत्काल शुरुवात गर्नुपर्ने, संस्थापक हिस्सेदारी सम्बन्धि कानूनी व्यवस्था नभएसम्म आइपीयो रोकिनुपर्ने, प्राथमिक र दोस्रो बजारमा संस्थागत लगानीकर्ताका सहभागिता बृद्धि गर्नुपर्ने, सबै आईपीयोमा बुक बिल्डड अनिवार्यरुपमा गर्नुपर्नेलगायतका माग राखेका छन् ।
आइतबार नै आम सर्वसाधारण लगानीकर्ताका तर्फबाट पुँजी बजार जोगाउन २२ बुँदे माग धितोपत्र बोर्डका श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । माग पूरा नभए पुँजी बजारले नसोचेको संकट व्यहोर्ने र ७० लाख बढी लगानीकर्ता, ९३ सेयर दलाल, दर्जनौं मर्चेन्ट बैंकर, सरकार र अन्य सम्बद्ध पक्षहरुले ठूलो क्षति भोग्नुपर्ने लगानीकर्ताको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया