रातो कागज

म्याग्दी, १९ भदौः पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ ।
ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरोले पुरानो भवनसहित भौतिक संरचना बगाएपछि किमबोटमा अस्थायी भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको हो ।
आर्थिक वर्ष २०८१,८२ मा मालिका गाउँपालिकाको रु २० लाख अनुदानमा १३ कोठे कच्ची भवन बनाएर स्थानान्तरण गरिएको मालिका–४ का वडाध्यक्ष भिजेन्द्रमान पुनले बताए । विद्यालयको थप पूर्वाधारका लागि यस वर्ष रु दश लाख विनियोजन भएको छ, उनले भने, पहिरो रोकथामका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छौँ । चाररचार कोठे दुई वटा पक्की भवनमुनिको जमिन चर्कीएपछि ढल्ने अवस्थामा रहेका उनले जानकारी दिए ।
ढङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । भिरालो पाखोमा रहेको विद्यालय भवनमाथि रहेको सडकको भल, भूमिगत पानी, कमजोर भूगोल र तल रहेको दाजुङखोलाको कटानका कारण पहिरो गएको स्थानीय बताउँछन् ।
पहिरोले रु तीन करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुर्याएको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पबहादुर विश्वकर्माले बताए। किमबोटको अस्थायी भवन परिसरमा घेराबार, ढल व्यवस्थापन र संरक्षणका लागि स्रोतको खोजीमा छौँ, उनले भने, पुरानो भवनको ढुङ्गा र फर्निचर प्रयोग गरेर अस्थायी भवन बनाएका हौँ ।
विद्यालयका प्रधानाध्यापक नविन कार्कीका अनुसार विसं २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल २०० विद्यार्थी अध्ययनरत छन् । “कच्ची भवनको एउटा कोठामा पढाएको अर्को कोठामा सुनिन्छ । कोठा विभाजन, पलास्टर र रङरोगन तथा घेराबार गर्न बाँकी छ”, उनले भने ।
ओखरबोट गाउँभित्र भवन बनाउन विसं २०८० मङ्सिरमा अमिक शेरचनका १० दाजुभाईले नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफल भएको जग्गा उपलब्ध गराएका थिए । पूर्वउपप्रधानमन्त्री रहेका शेरचनका दाजुभाईले सरकारीको मापदण्ड अनुसार रु ४४ लाख ७७ हजार मूल्य पर्ने उक्त जग्गा निशुल्क रूपमा उपलब्ध गराएपनि नाम राख्ने विषयमा विवाद देखिएको थियो ।
वडा सदस्य भिमसरा पुनले जग्गादाताले विद्यालयको नाम परिवर्तन गर्न प्रस्ताव गरे पनि गाउँपालिका तहमा सहमति नजुटेकाले उक्त जग्गामा भवन निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताए ।
पहिरोले क्षति गरेको विद्यालयको बुधबार निरीक्षण गरेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले तत्कालीन रूपमा अस्थायी कक्षाकोठा व्यवस्थापन गर्न सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाए ।
जग्गादाता र गाउँपालिका तथा समुदायले विद्यालयको नामसम्बन्धी विषयलाई टुङ्गो लगाउन आग्रह गर्दै उनले थप पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारका निकायमा पहल गर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया