Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा शम्भु ढकाल

रातो कागज
2 घण्टा अघि

काठमाडौँ, १९ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ ।

संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार मन्त्रीस्तरीय निर्णय गरी समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाललाई जिम्मेवारी दिनुभएको हो । यसैगरी समितिका सदस्यमा धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई, ज्योतिषी रतिदेवी श्रेष्ठ र ज्योतिष विषयका उपप्राध्यापक आर्यावर्त पात्रो पञ्चाङ्ग का पञ्चाङ्गकार नारायणप्रसाद निरौलालाई नियुक्त गरेका समितिले जनाएको छ ।

समितिको सदस्यमा ज्योतिष लक्ष्मणप्रसाद पन्थीको पदावधि भने बाँकी नै रहेको छ । समितिका नव नियुक्त अध्यक्ष र सदस्यलाई आजै समितिको कार्यालय नारायणहिटी दरबार सङ्ग्रहालयमा स्वागत गर्ने कार्यक्रम रहेको वरिष्ठ प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए ।

अध्यक्ष र सदस्यहरुलाई पाँच वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । समितिमा यसअघि प्रा श्रीकृष्ण अधिकारी नेतृत्वको समूह रहेको थियो । अधिकारी नेतृत्वको समितिको कार्यकाल गत असार २३ गते सकिएको हो । समितिको कार्यकारी निर्देशक भने नियुक्त गर्न बाँकी रहेको छ । कार्यकारी निर्देशक भने खुला प्रतिष्पर्धाबाट नियुक्तिको प्रक्रिया चलिरहेको छ । त्यसमा तीन जनाले आवेदन दिएको पनि समितिले जनाएको छ ।

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते स्वीकृत गरेको समितिको गठन आदेश अनुसार चाड, पर्व, मुहूर्त, साइत, धर्म, संस्कृति लगायतका बारेमा निर्णय गर्ने र प्रत्येक वर्ष प्रकाशन हुने नयाँ पात्रो पञ्चाङ्ग तथा भित्तेपात्रो क्यालेण्डर लाई स्वीकृति दिने मुख्य काम समितिलाई दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया