रातो कागज

काठमाडौं। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबारबाट सुरु भएको ‘राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२’सम्पन्न भएको छ ।
समापन समारोहमा कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रममा धेरै बौद्धिक विमर्श भएको बताए । उनले भने, ‘तपाईँहरूको चासो र सक्रियताका लागि धेरै–धेरै धन्यवाद । सम्मेलनले कला क्षेत्रको समस्याको उठान, व्याख्यान तथा बैठानसमेत गर्न पहल गरेको छ । ’
उपकुलपति लालकाजी लामाले सम्मेलनमा लोककला, परम्परागत कला र शिल्प–हस्तकलाका विषयमा घनीभूत छलफल भएको बताए । उनले यस छलफलले नेपाली कला क्षेत्रमा नयाँ यात्रा तय गर्ने धारणा राख्नुभयो । सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कला भनेको संसार भएको बताए ।
उनले भने,‘यस सम्मेलनमा उत्साहजनक रूपमा सातै प्रदेशका कलाकारहरूले प्रतिनिधिमूलक सहभागिता जनाउनुभयो । तपाईँहरूबाट उठेका कुरा हामी सम्बन्धित स्थानमा पु¥याउने छौँ ।’
परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले यस सम्मेलनलाई अवसरका रूपमा लिनुपर्ने बताए । उनले कलाका क्षेत्रमा थुप्रै चुनौती तथा समस्या रहेको बताउँदै सम्मेलनको आवाजलाई शक्तिका रूपमा ल्याउन प्रयोग गर्ने धारणा राखे ।
कार्यक्रममा नूतनधर शर्माले ‘नेवाः शैव–द्वार चित्रकला’, मिङ्मा लामाले ‘परम्परागत थाङ्का (थाङ्कु) चित्रकला एवं यसका समस्या र चुतौती’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । ती कार्यपत्रमाथि क्रमशः नरेश शाक्य र बुद्ध छिरिङ मोक्तानले टिप्पणी गरेका थिए । यस्तै कार्यक्रममा होमबहादुर घिसिङले ‘परम्परागत थाङ्का कला’ का विषयमा प्रस्तुति दिनुभएको थियो भने समूहगत रूपमा परम्परागत कला, कलाका विविध आयाम तथा क्षेत्रसँग सम्बन्धित विषयमा छलफलसमेत भएको थियो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, अग्रज कलाकार, विभिन्न सङ्घ–संस्था÷क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकार, पत्रकार, अनुसन्धातालगायतकोे उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया