Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रतिनिधिसभा बैठक : बढी भाडा असुल्नेलाई कारवाहीको दायरामा ल्याउन माग

रातो कागज
2 घण्टा अघि

काठमाडौँ, १८ भदौ : सांसदहरुले चाडपर्व निजिकिएसँगै यातायत सहज रुपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

दशैँतिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरुको चापको मध्यनजर गर्दै सिट भन्दा बढी यात्रु राख्ने, तोकिएको भाडाभन्दा बढी असुल्ने लगायतका गतिविधि बढ्ने भएकाले कडा निगरानी गर्न माग सांसदहरुले गरेका हुन् ।

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद शोभा ज्ञवालीले चाडपर्व निजिकिए सँगै यात्रुहरुलाई सहज रुपमा यात्राको व्यवस्था मिलाउन ध्यानकार्षण गराए । उनले बस व्यवसायीहरुले तोकिएको भाडाभन्दा बढी असुल्ने, यात्रुहरुलाई धम्की दिनेजस्ता सास्ती यात्रुहरुले भोग्नुपरेको बताए ।

सांसद शान्ति चौधरीले दशैँमा घर फर्किनका लागि अग्रिम टिकट बुकिङमा पनि यात्रुहरु ठगिनुपरेको भन्दै महँगो भाडा लिने, सिटभन्दा बढी यात्रु राख्ने गरिएको बताए । उनले बर्सातको बेलामा बाटो बिग्रेकाले यथाशीघ्र निर्माण कार्यमा ध्यान दिनुपर्ने बताए ।

सांसद सीता गुरुङले नजिकिँदो चाडपर्वमा दैनिक उपभोग्य खाद्यवस्तु र लत्ताकपडामा कृत्रिम अभाव सिर्जना गराउने सम्भावना भएकाले अनुगमन गर्न प्रभावकारी टिम बनाउन माग गरे। उनले बिग्रेका बाटाको निर्माणमा प्राथमिकता दिन, चाडपर्वका बेला सडक र हवाई यातायातमा सहज टिकटको व्यवस्था र मनपरि भाडा असुल्नेलाई कडा अनुगमन गर्न माग गरे ।

सांसद विनिताकुमारी सिंहले धेरै जिल्लामा लम्पी स्किन रोगले समयमा उपचारको अभावले हजाराँै चौपायाको मृत्यु भएको भन्दै रोकथाममा ध्यान दिन आग्रह गरे । साथै उनले उखु किसानको समस्या सम्बोधन गर्न माग गरे ।

सांसद विनोदकुमार चौधरीले पनि लामो समयदेखि उखु किसानहरु आफ्नो उत्पादनको उचित मूल्य नपाएर निराश हुँदै आउनुपरेको त्यसमाथि रासायनिक मलको अभावले पनि पीडित भएको जनाउँदै यसको समस्या समाधान हुुनुपर्ने बताए ।

सांसद शेरबहादुर कुँवरले पनि उखु किसानको पैसा तुरुन्त भुक्तानी गर्न आग्रह गरे । सांसद सरिता भुसालले पनि उखु किसानको अनुदान नरोक्न र बाँकी रकम भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण गराए।

सांसद श्यामकुमार घिमिरेले पनि उखु तथा दूध किसानको समस्या बेलैमा सम्बोधन गर्न माग गरे । उनले दशैँ आएसँगै देशभरको बाटो बर्सातका कारण बिग्रिएकाले निर्माण गरी यातायात सहज गराउनुपर्छ भने ।
सांसद शक्तिबहादुर बस्नेतले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै सेवाग्राहीको चाप बढेकाले जाजरकोट जिल्लामा सेवा प्रवाहलाई छिटोछरितो बनाउन वितरण स्टेशन थप र घुम्ती सेवा सञ्चालन गर्न सरकार सँग माग गरे ।

सांसद सरस्वती बजिमयले सरकारले इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षरमै लेख्न र तिनुपर्ने राजस्वलाई घटाउन आग्रह गरे । सुहाङ्ग नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जोड्ने निर्णय जनतालाई थप सास्ती दिने निर्णय भएको बताउँदै यो निर्णय स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधिलाई सुनिश्चित गरी मात्र चरणबद्ध रुपमा अघि बढाउनुपर्ने माग गरे ।

सांसद सराज अहमत फारुकीले स्वास्थ्य क्षेत्रमा लगानी र सुधारको आवश्यकता देखिएको बताए । उनले नेपालका सरकारी अस्पतालमा जनशक्ति लगानी, बेड र उपकरणमा बजेटको वृद्धिको आवश्यकता देखिएको बताए ।

सांसद सीताकुमारी रानाले छाउपडी प्रथाका कारण अनाहकमा महिलाहरुले ज्यान गुमाउनुपरेको भन्दै अन्त्य गर्न सबै लाग्नुपर्ने बताए । सांसद सीता मिजारले संवैधानिक अङ्ग र सार्वजनिक निकायमा पदाधिकारी नियुक्तिका क्रममा समानुपातिक समावेशीको सिद्धान्तमा राज्यले यो नीति अवलम्बन नगरेको र त्यसमा महिला र दलितको प्रतिनिधित्व विभेदकारी देखिएको बताए ।

सांसद सुशीला सिर्पाली ठकुरीले राष्ट्रिय दलित आयोगले सिफारिस गरेको थर सूचीकरणमा सरकारले ध्यान नदिएकाले नागरिकता प्रमाणपत्र, छात्रवृत्तिजस्ता आधारभूत सेवाबाट वञ्चित हुुनुपरेको बताए ।

सांसद हर्कमाया विश्वकर्माले पूर्वी नेपालको झापा, मोरङ, सुनसरी लगायमा नगदे बालीका रुपमा सुपारीखेतीको राम्रो कारोबार हुने भएकाले उत्पादित सुपारीको मूल्य सरकारले निर्धारण गर्नुपर्ने माग गरे ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ नागरिकहरुलाई बोझको रुपमा नभई सम्मानको पात्रको रुपमा लिनुपर्ने जनाउँदै उनीहरुलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक प्रदान गर्नुपर्ने माग गरे ।

सांसद सूर्यकुमारी श्रेष्ठ र सांसद सूर्यबहादुर थापा क्षेत्रीले चीन र भारतबीच नेपालको लिपुलेक पासलाई व्यापारिक मार्ग बनाउने सम्झौता विरुद्ध आपत्ति प्रकट गरेकोमा प्रम ओलीलाई धन्यवाद ज्ञापन गरे । उहाँहरुले यसबारे थप कूटनीतिक पहल गरी यस विवादलाई सुल्झाउनुपर्ने माग गरे ।

सांसदहरु सूर्यमान तामाङ दोङ, सञ्जयकुमार गौतम, ज्ञानु बस्नेत सुवेदी, हितराज पाण्डे, हितबहादुर तामाङ, सुशीला थिङ, सरस्वती सुब्बा, सूर्यप्रसाद ढकाल, हसिना खान, हेमराज राईले शून्य समयमा विभिन्न समसामयिक विषयहरुमा आफ्ना धारणाहरु उठान गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया