News and Updates

राँझा बाँके, १८ भदौः नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै नेपालगञ्जमा व्यावसायिक सचेतना अभियान सुरु गरिएको छ । चाडपर्वमा हुनसक्ने कालोबजारी, मूल्य वृद्धि र गुणस्तरहीन खाद्यवस्तुको बिक्रीलाई निरुत्साहित गर्न यसवर्ष नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सचेतना अभियान सञ्चालन गरेको हो ।
सङ्घका अध्यक्ष टङ्क धामीले व्यवसायीलाई कानुनद्वारा तोकिएको सीमामा रहेर जिम्मेवारी पूर्वक व्यवसाय गर्न आग्रह गर्दै आतङ्कित पार्नेगरी नभई सचेतना जागरण गर्ने किसिमले बजार अनुगमन गर्न सम्बद्ध निकायलाई अनुरोध गरे । व्यवसायीले पनि कानुनले तोकेको सीमा कार्यान्वयन गर्दै जिम्मेवार भएर व्यवसाय गर्नुपर्छ । गल्ती गरेको अवस्थामा सङ्घले व्यवसायीको संरक्षण् गर्न सक्दैन, उनले भने, “सरकारी नियमनकारी निकायले पनि व्यवसायीलाई आतङ्कित पार्ने नभई सचेतना जागरण हुने किसिमले बजार अनुगमन गर्नसके उपभोक्ताको हित हुनेछ ।
नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले चाडपर्वमा उपभोक्ताको हितका लागि उपमहानगरको अनुगमन समितिलाई सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि खटाइने बताए । उनले बजार अनुगमन गर्नुको उद्देश्य कारबाहीको नभई सचेतना जागरण गर्नु हुने प्रतिबद्धता जनाए। उनले उपभोक्ताई प्रत्यक्ष हानि पुर्याउने काम गरेका र नियत खराब राखेर व्यावसाय गरिरहेकालाई बाहेक अन्यलाई कारबाहीमा लैजानेभन्दा सचेत बनाउने उद्देश्यले बजार अनुगमन हुनुपर्नेमा जोड दिए ।
खाद्य प्रविधि तथा गुणस्तर कार्यालयका प्रमुख हरिबहादुर खत्रीले चाडपर्व नजिकिएसँगै उपभोक्ताको हितलाई ध्यानमा राख्दै अनुगमन गरिने बताए । उनले व्यापारीहरू पनि आफूले बेच्ने सामान बाहेक अन्य वस्तुको उपभोक्ता हुने भएकाले सबैलाई इमानदारिता पूर्वक व्यवसाय गर्न आग्रह गरे । उनले अनुगमनको उद्देश्य कारबाही र जरिवाना गर्ने नहुने भन्दै यसलाई नकारात्मक रूपमा लिन नहुने धारणा राखे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया