रातो कागज

धनगढी, १८ भदौः हरेका सहरमा चुनौती बनेको फोहर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिका बीचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।
फोहर व्यवस्थापनका सम्बन्धमा दुवै स्थानीय तहबीच मङ्गलबार धनगढीमा भएको परियोजनाको प्रस्तुतीकरणको अनुभव साटासाटका क्रममा सहभागी वक्ताले फोहरको उचित व्यवस्थापन मार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।
धनगढी उपमहानरपालिकाका प्रमुख गोपी हमालले सरसफाइलाई पालिकाको गौरवको योजनाका रूपमा अगाडि बढाएको बताए। सडक, पुल, भवन नभई हाम्रो गौरवको योजना फोहर व्यवस्थापन र सरसफाइ हो, उनले भने, स्थानीय तहको कम प्राथमिकतामा पर्दै आएको फोहर व्यवस्थानलाई हामीले पहिलो प्राथमिकता दिएका छौँ, त्यही अनुसार वार्षिक बजेट र कार्यक्रम तय गरिएको छ ।
उनले व्यक्ति र समुदायलाई फोहर नगर्ने बानीको विकास गर्न सकिएमा फोहर व्यवस्थापनमा देखिएको जटिलता कम हुने बताए । नगरप्रमुख हमालले प्लास्टिक जन्य फोहर फैलन नदिन गु्ट्खा लगायत एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकलाई प्रतिबन्ध लगाइएको बताए।
उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले फोहरबाट बायो ग्यास उत्पादन देखि फोहर प्रशोधन गरेर विभन्न वस्तु उत्पादन गर्ने तयारी भइरहेको बताए । पञ्चानब्बे प्रतिशत फोहर घरघरबाटै वर्गीकरण भएर आउने गरेको उनले जानकारी दिए। अस्पतालजन्य फोहर व्यवस्थापनका लागि बेग्लै संरचना बनाएर काम सुरू गरिएको अधिकृत अवस्थीले बताए । फोहरको सूक्ष्म वर्गीकरण केन्द्र पनि सञ्चालनमा छ । निजी क्षेत्रसँगको सहकार्यमा समुदाय, विद्यालय गायत सामाजिक सङ्घसंस्थालाई पनि फोहर व्यवस्थापनमा परिचालन गरिएको छ ।
पोखरा महानगरपालिकामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ योजना मार्फत हरित रोजगारी सृजना परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाले उक्त परियोजनाबारे जानकारी गराएका थिए। फोहर व्यवस्थापनमा उल्लेखनीय काम गरेका स्थानीय तह हरू बीच सीप र अनुभव आदानप्रदान गर्न अवलोकन भ्रमणको आयोजना गरिएको उनले बताए । अवलोकन भ्रमणमा पोखरा महानगरपालिकाका कर्मचारी, परियोजनाका कर्मचारी, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी छन् ।
पोखरा महानगरपालिकाले कोरिया अन्तरराष्ट्रिय सहयोग नियोगको आर्थिक तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सृजना परियोजना’ सञ्चालन गरेको छ । परियोजना मार्फत प्रयोग गर्ने र फाल्ने अभ्यासको सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङ उद्योग स्थापनामा जोड दिइएको छ ।
हरित रोजगारी प्रवर्द्धन गर्दै ठोस फोहरमैलाबाट सृजना हुने प्रदूषण तथा नकारात्मक वातावरणीय प्रभाव न्यूनीकरणमा टेवा पुग्ने विश्वास छ । परियोजनाले फोहर सङ्कलन, ढुवानी र वर्गीकरणका लागि समुदायमा सचेतना अभियान पनि सञ्चालन गर्दै आएको सहजकर्ता तिमिल्सिनाले बताए । परियोजनाले पोखराका एक सय ३६ वटा टोलमा अभियान सञ्चालन गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया