Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रामेछापको उमाकुण्डमा वडामै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र कार्ड वितरण

रातो कागज
2 घण्टा अघि

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछाप र गाउँपालिकाको संयुक्त पहलमा नागरिकलाई सजिलै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन वडामै पुगेर विवरण सङ्कलन र बनेका कार्ड वितरण गर्ने अभियान मंगलबारदेखि उमाकुण्ड गाउँपालिकामा सुरु भएको छ।

अभियानको पहिलो दिन उमाकुण्ड गाउँपालिकाको वडा नं. ७ भूजीमा विवरण सङ्कलन तथा कार्ड वितरण गरिएको हो।

मंगलबार भूजीमा २४ जना महिला र ३० जना पुरुष गरी ५४ जनाले नयाँ परिचयपत्रका लागि विवरण बुझाएका छन्। बनेका कार्डमध्ये २९ वटा वितरण गरिएको छ।

जिल्ला सदरमुकाम आएर परिचयपत्र बनाउन र लिन नागरिकलाई सास्ती हुने भएकाले वडामै पुगेर सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । उनका अनुसार देशभर कार्यक्रम नचलेको भए पनि रामेछापमा भने अभियानकै रूपमा निरन्तर काम भइरहेको छ।

अभियानका कारण नागरिकलाई सदरमुकाम धाउनुपर्ने झन्झट कम हुने, समय र खर्च बचत हुने, वृद्ध, महिला र अपाङ्गता भएका व्यक्तिलाई सहज हुने, गाउँकै कार्यालयमा आवश्यक कागजात तयार गर्न सकिने सुविधा मिल्ने छ । यसले नागरिकलाई सरकारी सेवा–सुविधा सहजै प्राप्त गर्न मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।

‘ज्येष्ठ नागरिक अपाङ्ग र अशक्तले निक्कै सास्ती खेपेको देखियो, बनेर आएका कार्ड समेत लिन आउन नसकेको कारण त्यतिकै थन्किएर बसेका छन्, नयाँ बनाउन आउनेलाई पनि समस्या भयो, त्यसैले एक पटक सबै वडामा नै पुगेर काम गर्न लागिएको हो, यसले उहाँहरूको समय र आर्थिक पनि बचत हुन्छ’, उनले भने ।

यसअघि रामेछाप नगरपालिका र सुनापति गाउँपालिकामा यो अभियान सम्पन्न भइसकेको छ। उमाकुण्डका सबै ७ वडामा चरणबद्ध रूपमा परिचयपत्रको लागि विवरण सङ्कलन र बनेर आएका परिचयपत्र वितरण गरिने र बाँकी गाउँपालिकामा पनि वडामै पुगेर सो कार्य सम्पन्न गरिने थापाले बताए ।

उमाकुण्ड गाउँपालिकामा ७ नं वडाबाट सुरु गरिएको अभियानको सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारसहित स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिति थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया