Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘लोक सेवा पहुँच कार्यक्रम देशका सातै प्रदेशमा

रातो कागज
6 घण्टा अघि

कर्णाली, १७ भदौः लोक सेवा आयोगले देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको छ ।

आयोग स्थापनाको ७५औँ वर्षका अवसरमा प्रदेश, स्थानीय तह र विश्वविद्यालयहरूको समन्वय तथा सहकार्यमा देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको लोक सेवा आयोग सुर्खेत कार्यालयका प्रमुख रुद्रबहादुर कार्कीले जानकारी दिए ।

आयोगको कार्यतालिका अनुसार सोमबार कोशी र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न गरिएको जनाउँदै कार्यालय प्रमुख कार्कीले भोलि भदौ १८ गते कर्णाली र मधेस, २० गते गण्डकी र सुदूरपश्चिम, २७ गते बागमती प्रदेशमा उक्त कार्यक्रम सम्पन्न गरिने बताए । कर्णालीमा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी सहितको सहभागिता हुने उनको भनाइ छ ।

समाजमा अहिले पनि ठूलो सङ्ख्यामा युवा विद्यार्थी तथा सर्वसाधारण नागरिकले आयोगको निष्पक्ष परीक्षा प्रणाली, उम्मेद्वार छनोट प्रक्रिया, तयारी विधि र पारदर्शी चयन पद्धतिबारे पर्याप्त जानकारी छैन, उनले भने, अर्कोतर्फ आयोगमा पनि भनसुन हुन्छ भन्ने बुझाइको चिरफार गर्ने हेतुले आयोगले यो कार्यक्रम तय गरेको हो ।

कर्णालीका १० जिल्लाबाट १० का दरले ६० जना, १२ जना विश्वविद्यालय, १० पत्रकार सहित करिब एक सय जनाको सहभागिता हुने कार्यालय प्रमुख कार्कीले बताए । पहिलोपटक सार्वजनिक रूपमा गर्न थालिएको सो कार्यक्रमबाट युवा विद्यार्थीलाई सार्वजनिक सेवाप्रति आकर्षण र विश्वास बढाउन सकिने आयोगको अपेक्षा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया