Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पार्टीप्रतिको आस्था र विश्वासबिना कामहरू जीवन्त र प्रभावकारी हुन सक्दैनन्’

रातो कागज
2 घण्टा अघि

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र आन्दोलनप्रतिको गहिरो विश्वासबिनाका कार्यहरू जीवन्त र प्रभावकारी बन्न नसक्ने धारणा व्यक्त गरेका छन् ।

आनन्द प्रसाद पोखरेलद्वारा लिखित ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले जुन काममा जुटेका छौं, त्यसमा सबैभन्दा पहिलो कर्तव्य भनेको पार्टीप्रतिको आस्था र विश्वास भएको बताएका हुन् ।

उनले भने, ‘जबसम्म हामी पार्टीमाथि विश्वास गर्न सक्दैनौं, भरोसा गर्न सक्दैनौं, हाम्रा कामहरू जीवन्त र प्रभावकारी हुन सक्दैनन् । जुन काममा जुटेका छौं, त्यसमा सबैभन्दा पहिलो कर्तव्य भनेको पार्टीप्रतिको आस्था र विश्वास हो ।’

उनले पार्टी निर्माणलाई परिवर्तनको उद्देश्यसँग गाँसेर हेर्नुपर्ने उल्लेख गर्दै, वैधानिक तयारीमार्फत समाजमा चेतना, वर्गसंघर्ष र आवश्यक्ताका आधारमा परिवर्तन सम्भव हुने बताए ।

उनले भने, ‘परिवर्तनको उद्देश्यसँग गाँसेर स्थापित गर्ने पार्टी एमाले हो, जतिबेलासम्म हामी वैधानिक तयारीबाट परिष्कृत गर्न अगाडि बढ्छौँ । त्यही बेलादेखि नै समाजको चेतना, वर्गसंघर्ष र आवश्यक्ता सबै चिज परिवर्तन गर्न सकिन्छ भन्ने नै हाम्रो आन्दोलनको मान्यता हो ।’

यसै अवसरमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विचार, संगठन र विधिको संयोजनलाई सशक्त पार्टी निर्माणको सूत्रका रूपमा व्याख्या गरे ।

‘विचारले हामी दीक्षित भयौं, तर संगठन चलाउन विधि पनि चाहिन्छ,’ ज्ञवालीले भने, ‘थुंगाहरू त सयौं छन्, तर त्यसलाई माला बनाउन धागो चाहिन्छ । त्यही धागो हो विधि ।’

उनले सदस्यताको गुणस्तर अभिवृद्धि, अनुशासन र पार्टीभित्रको विचारको स्वतन्त्रताका दायराबारे स्पष्ट धारणा प्रस्तुत गरे । ‘पार्टीभित्र विचारको स्वतन्त्रता हुन्छ, तर त्यसको एउटा सीमा हुन्छ । व्यक्तिगत सोचभन्दा पार्टीको पहिचान र अनुशासनमा समाहित हुन सक्नुपर्छ,’ उनले भने ।

ज्ञवालीले कम्युनिष्ट पार्टीमा लागेपछि व्यक्तिगत स्वतन्त्रता राख्दा स्वतन्त्र नागरिक भएर बस्न सकिन्छ, तर असल कम्युनिष्ट कार्यकर्ता बन्न नसकिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया