Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

शिक्षक महांसघको चेतावनी ः दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ 

रातो कागज
1 घण्टा अघि

काठमाडौं । नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ  ।

सोमबार महांसघले विद्यालय शिक्षा विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जसपा कार्यालय अगाडि धर्ना गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।

उनीहरुले भदौ ११ देखि निरन्तर रुपमा राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्टे धर्ना दिइरहेका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता हुँदा केही र महत्वपूर्ण विषयहरु छुटेका कारण धर्ना गरेको बताएका छन् ।

उनले उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनका लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न दबाब दिन आन्दोलनका कार्यक्रम जारी राखेको जानकारी दिए ।

उनले पहिलो चरणको कार्र्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम अवरोधात्मक र कडा खालको हुने दाबी गरे ।

‘कार्यक्रम २० गते सम्म जारी रहन्छ । त्यसपछि दोस्रो चरणका कार्यक्रमहरु सार्वजनिक गर्नेछौं । दोस्रो चरणका कार्यक्रमहरु अलि अवरोधात्मक र कडा खालका हुन्छन् । हाल धर्ना गर्नुको कारण समितिबाट शिक्षा विधेयकमा प्रतिनिधि सभामा दर्ता हुँदै गर्दाखेर केही विषयहरु सम्बोधन भए तर महत्वपूर्ण विषयहरु छुटेका छन् । केही महत्वपूर्ण विषयहरु उल्टो दिशामा गएको छ । उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनको लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा काम हुन बाँकी छ  । दुवै सभामा छुटेका विषयलाई समवेशी गराएर अग्रगामी ऐन जारी गराउन धर्ना आयोजना गरिएको हो,’उनले भने  ।

आन्दोलनकै अगुवा नानु मैया पराजुलीले यसअघि २९ दिनको आन्दोलनमा शिक्षा विधेयकमाथि छलफल अगाडि बढेको भएपनि उपसमितिमा बुझाएको प्रतिवेदनप्रति सन्तुष्ट हुन नसकेकाले पहिलो चरणको कार्यक्रम गर्नुपरेको बताइन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया