Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बेपत्ता परिवारका सदस्य भन्छन् : अझै आशा मरेको छैन

रातो कागज
4 घण्टा अघि

तुलसीपुर दाङ, १६ भदौ ः यहाँको दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी विसं २०५९ देखि बेपत्ता भए । मल लिन तुलसीपुर जाने भनी हिँड्नुभएका चौधरी बेपत्ता भए पनि परिवारको आश भने अझै मरेको छैन । अझै पनि आउछन् की भन्ने लाग्छ, भाई सीताराम चौधरीले भने, आश अझै मरेको छैन ।

त्यस्तै आशामा छन्, तुलसीपुर उपमहानगरपालिका–११ निवासी लक्ष्मी चौधरी पनि । उनका श्रीमान् खोपीराम चौधरी विसं २०५९ मा बेपत्ता भए । त्यसपछि अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन । न त सास छ, न त शव नै भेटियो, उनले भने, “अझै पनि आउनुहुन्छ की भन्ने लाग्छ ।

सरकारले यथार्थ पत्ता नलगाइदिँदा अझै घाउमा मल्हम लाग्न नसकेको उनको भनाइ छ । पटकपटक अन्तरक्रिया कार्यक्रम हुने, अवस्था बुझ्न आउने गरे पनि वास्तविक अवस्था पत्ता लाग्न नसकेको उनको दुःखेसो छ ।

घोराही उपमहानगरपालिका–१७ निवासी बिपीन आचार्यका बुवा थानेश्वर आचार्य विसं २०५९ मा बेपत्ता भए । उनी बेपत्ता भएपछि अहिले घरमा अंशवण्डा नै प्रभावित भएको छ । बुवा बेपत्ता छ, उनको मृत्यु दर्ता नहुँदा अंशवण्डा गर्न सकिएको छैन, उनले भने, बुवाहरुकै अंशवण्डा छैन ।

उनीहरु जस्तै अझै धेरै बेपत्ता परिवारहरु ती बेपत्ता भएका परिवारका सदस्यको बारेमा कुनै जानकारी नहुँदा पीडित छन् । घरकै मुली मान्छे बेपत्ता हुँदा घर चलाउन समस्या हुने गरेको छ । द्वन्द्व पीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले युद्धको समयमा बेपत्ता पारिएका नागरिकको अवस्थाबारे जानकारी हुन नसकेका कारण युद्ध सकिएको मान्न नसकिने बताउछन् ।

विस्तृत शान्ति सम्झौता भएको १९ वर्षसम्म बेपत्ता छानबिन हुन नसक्नु दुःखद भएको उनको भनाइ छ । नेपाल रेडक्रसको तथ्याङ्कअनुसार दाङमा ८२ परिवारका सदस्यहरु बेपत्ता पारिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया