Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन

रातो कागज
24 घण्टा अघि

झापा, १५ भदौः मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१÷८२ मा दान पेटिकाबाट रु ७४ लाख ७४ हजार, सहयोग रसिदबाट रु ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीबाट रु १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट रु ८८ हजार आम्दानी भएको बताए । बैंकमा रहेको बचतको ब्याजबापत रु पाँच लाख ६० हजार, अनलाइन मार्फत आय रु दुई लाख ५४ हजार र विविध आम्दानीबापत रु ३० हजार ७२० सङ्कलन भएको उनले जानकारी दिए ।

प्रसिद्ध पाथिभरा देवीको पाउ रहेको पवित्र स्थानको रूपमा पूजापाठ र दर्शन गर्न मन्दिरमा दैनिक सयौँ भक्तजन आउने गर्छन् । भारतको पश्चिम बङ्गाल, सिक्किम, आसाम लगायत स्थानबाट पनि यहाँ दर्शनार्थी आउने गरेका छन् । समितिले आम्दानीलाई बैंकमा जम्मा गर्ने र बैंक मार्फत नै खर्च गर्दै आएको जनाएको छ । आम्दानीबाट मन्दिरको पुजारी तथा कर्मचारीको नियमित पारिश्रमिक दिने, आवश्यक भौतिक संरचना निर्माण गर्ने र भक्तजनको सुविधाका लागि विभिन्न खर्च गर्दै आएको छ ।

मन्दिरको शौचालय, धाम परिसरमा मार्वल तथा टायल्स बिछ्याउने कार्य र एउटा भवन समेत बनाउँदा सो आवमा रु ५७ लाख खर्च भएको समितिका अध्यक्ष ढकालले बताए । मन्दिरको नाममा रु एक करोड १२ लाख २१ हजार बैंक मौज्दात रहेको छ । समितिले चार गुरुसहित नौ कर्मचारीलाई करारमा नियुक्त गरेर पारिश्रमिक दिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया