१४ कार्तिक २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार सूचना प्रविधि

नेपालमा ड्रोन उद्योगको भविष्य : न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता

काठमाडौं । ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ । नेपालजस्तो भौगोलिक रुपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ ।
ड्रोन हब नेपालका प्रवन्ध निर्देशक प्रविन भट्टराईले नेपाल न्यूज बैंकसँग कुरा गर्दै भने, ‘ड्रोन अहिले चुनौतीको विषय भएको छ । रेगुलेसन कागजमै सीमित छ, कार्यान्वयन छैन, न त निगरानी नै । रेगुलेसनको जिम्मा कसले लिने भन्ने पनि स्पष्ट छैन ।’
उनको भनाइ अनुसार सिभिल एभिएसन, गृह मन्त्रालय, सञ्चार मन्त्रालय, वन मन्त्रालय, राष्ट्रिय निकुञ्जजस्ता थुप्रै निकायले आ–आफ्नो तवरले अधिकार जमाएको भएपनि, समन्वयको अभाव छ । ‘किन यस्तो अन्योल?’ भट्टराई भन्छन्, ‘किनभने यो प्राविधिक क्षेत्र हो । तर निर्णय गर्ने निकायमा अझैपनि यसको बारेमा आवश्यक ज्ञान र समझदारी छैन ।’
भट्टराई भन्छन्, ‘ड्रोन पढाउने भनेर प्लस टु र एसएलसी पास गरेका व्यक्तिहरू युट्युब हेरेर सिकेका भरमा ट्रेनिङ दिइरहेका छन् । यो निकै डरलाग्दो अवस्था हो ।’
उनले चलचित्र विकास बोर्डसँगको आफ्नो अनुभव सुनाउँदै थपे, ‘बोर्डले हामीलाई प्रशिक्षकको सूची दिन भनेपछि बायोडाटा हेरेरै योग्य प्रशिक्षक चयन ग¥यो। तर अधिकांश ठाउँमा यस्तो प्रक्रिया छैन। मान्यता नपाएका व्यक्तिहरूले ट्रेनिङ दिँदा भोलिका ‘पाइलट’ हरूले ड्रोन उडाउन त सक्छन्, तर कानून, सुरक्षाका मापदण्ड, वा हवाई सीमाबारे केही थाहा हुँदैन ।’
नेपालजस्तो हिमाली र दुर्गम देशका लागि ड्रोनले खाद्यान्न ढुवानी, एरियल म्यापिङ, पर्यटन प्रवद्र्धन, सीमामा निगरानी, भीड नियन्त्रण, फायर फाइटिङ, आपतकालीन उद्धारदेखि लिएर एयर एम्बुलेन्ससम्मको समाधान दिनसक्ने उनी बताउँछन् ।
भट्टराईले भने, ‘नेपालमा यस्ता ५० भन्दा बढी क्षेत्र छन् जहाँ ड्रोनको प्रयोग प्रभावकारी हुन सक्छ । तर, आम जनमानसमा अझै पनि ड्रोन भनेको फोटोग्राफी र भिडियोग्राफी मात्रै हो भन्ने सोच छ । कार्गो डेलिभरीः एयरलिफ्टजस्ता कम्पनीले पहाडी भेगमा सामान पुर्याउन काम गर्दैछन् ।’
नेपालमा ड्रोन उडाउनका लागि अनुमति प्रक्रिया जटिल र समय लाग्दो रहेको उनले बताए । उनले सिभिल एभिएसन, गृह मन्त्रालय, सेनाको अनुमति, राष्ट्रिय निकुञ्ज, संचार मन्त्रालय– सबै निकायबाट अलग अलग अनुमति लिनुपर्ने बाध्यता रहेको बताए ।
‘हामीले आधा घन्टाको ड्रोन उडान गर्न १५ दिन समय खर्च गर्छौं । ५० डलर शुल्क तिर्छौं । यो शुल्क १० डलरबाट बढाएर ५० डलर गरिएको छ । त्यसमा पनि भ्याट थपिएको छ । के यो सरकारको बिजनेस हो ?’
उनले २० हजारको ड्रोन किनेको मान्छेले जब १२ हजार ५०० नेसनल पार्कलाई र ९ हजार सिभिल एभिएसनलाई तिर्छ, उसले ड्रोन उडाउनुको अर्थ के रहन्छ भन्दै प्रश्न गरे ।
भट्टराईले प्रशिक्षक एरोनटिकल इन्जिनियर, पाइलट, वा कम्तीमा सम्बन्धित क्षेत्रमा तीन वर्षको अनुभव भएको हुनुपर्ने बताए ।
ड्रोन नेपालको भविष्यमा क्रान्तिकारी परिवर्तन ल्याउने माध्यम बन्न सक्छ । तर आजको दिनमा, यो सम्भावनाभन्दा बढी समस्यामा जकडिएको क्षेत्र भएको भट्टराई बताउँछन् ।
‘हामीलाई एउटै टेबलमा बसेर कुरा गर्नुपर्छ । नियम बनाउँदा हामी जस्ता प्रयोगकर्ताको पनि आवाज सुनिनुपर्छ । हामी विरोध गर्न आएका होइनौं, मिलेर समाधान खोज्न आएका हौं,’ उनले भने।
यदि नीति निर्माताहरूले प्राविधिक सुझाबलाई समावेश गरेर लचिलो, पारदर्शी र प्रयोगमैत्री नीति बनाए भने, नेपालमा ड्रोन एक बिलियन डलरको उद्योग बन्न सक्ने उनको भनाई छ ।

 

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक