१० फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

लोक र शिल्प हस्तकलाको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौँ, १२ भदौः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नेपालमा पहिलोपटक हुन लागेको लोक, परम्परागत र शिल्प हस्तकलाको राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

यही भदौ १६ देखि १८ गतेसम्म काठमाडौँमा तीन दिनसम्म आयोजना हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानको परम्परागत कला विभाग, वास्तुकला तथा लोककला विभाग र शिल्प हस्तकला विभागको संयुक्त संयोजनमा हुन लागेको सम्मेलनमा मुलुकका सातै प्रदेशबाट लोक परम्परागत शिल्प हस्तकला क्षेत्रका कलाकार, विज्ञ तथा सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता रहने छ ।

सम्मेलनले लोक परम्परागत शिल्प, हस्तकलामा वर्तमान चुनौती के छन्?, हस्तकला क्षेत्र किन पछि परिरहेको छ ?, नीतिगत रूपमा भएका समस्या र समाधानका उपाय के हुनसक्छन् ?, कलाकार र नीतिनिर्माताले के काम गर्न सक्छन्? भन्ने विषयमा छलफल गरी काठमाडौँ घोषणापत्रसमेत जारी गरिने प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार ६० भन्दा बढी विज्ञ, कलाकार सहभागी हुने सम्मेलनमा उद्घाटनपछि अलगअलग रूपमा आठ वटा कार्यपत्र प्रस्तुत हुने र ती कार्यपत्रमाथि समूहगत छलफल हुनेछ ।

कलाको दस्ताबेजीकरण गर्ने, कलाको महत्त्व बुझ्ने र बुझाउने प्रयासस्वरुप सम्मेलन आयोजना गरिने प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए । प्रतिष्ठानले यसअघि चित्रकला र मूर्तिकलाको सम्मेलन गरेको थियो । उनका अनुसार लोक, परम्परागत कला तथा शिल्प हस्तकलाको सम्मेलन पहिलोपटक आयोजना हुन लागेको हो ।

पछिल्लो समयमा सङ्घीय संरचनाअनुसार नेपाली कलाका गतिविधि सञ्चालन भइरहेका छन् । कला प्रदर्शनी पनि सातै प्रदेशमा आयोजना गर्न थालिएको छ ।

गाउँगाउँमा लुकेका रैथाने कलाको प्रववर्द्धन र विकासका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण भएका बताउँदै रुपान्तरणको अभियानमा प्रतिष्ठान रहेकाले सम्मेलन फलदायी हुने प्रतिष्ठानका कुलपति नारदमण हार्तम्छालीले विश्वास व्यक्त गरे । उनका अनुसार सम्मेलन यही १८ भदौ गते काठमाडौँ घोषणपत्र जारी गरी सकिने छ । उक्त घोषणापत्र कार्यान्वयनका लागि सरकारलाई जारी घोषणपत्रको प्रतिलिपि बुझाइने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि