Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बेनी बजारमा रातो च्याउको माग बढी

रातो कागज
7 घण्टा अघि

म्याग्दी, १२ भदौः बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो ।

यही भदौ १० गते बेनी बजारमा रातोच्याउ बेच्न आएका रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो । कुइनेमङ्गलेको जङगलबाट ल्याएको २० किलो रातोच्याउ बजारका उपभोक्ताले खोसाखोस गरेर किन्नु भएको उनले बताए ।

गाउँघरमा परम्परागत तरिकाले उपभोग गरिने रातो च्याउ सडक तथा यातायातको सुविधासँगै सहर, बजारमा पुग्न थालेको छ, छन्त्यालले भने, खोज्न सक्नुप¥यो च्याउ जति पनि बिक्री हुन्छ । उनका अनुसार समुन्द्री सतहबाट तीन हजार मिटर उचाइका जङ्गलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा बर्खायाममा आफैँ उम्रने रातोच्याउ तरकारीका रूपमा उपभोग हुन्छ ।

बेनीमा ताजा रातो च्याउ प्रतिकिलो रु एक हजारका दरले किनबेच भइरहेको छ । सुकुटी बनाइएको प्रतिकिलो रु चार हजारदेखि रु पाँच हजारसम्म पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जाका भविन छन्त्यालले बताए । सबैभन्दा बढी जङ्गली च्याउ टिपेर बजारमा बेच्ने गुर्जाका बासिन्दा हुन् । गुर्जाका बासिन्दाले च्याउ बेचेर वार्षिक रु दुई–तीन लाखसम्म आम्दानी गर्ने उनले जानकारी दिए ।

रातो च्याउ स्वादीलो र पोषिलो हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने बेनीकी होटल व्यवसायी नौलीमाया पुनले बताए । रातो च्याउमा प्रोटिन र विभिन्न आवश्यक तत्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउखेती प्रविधि पुस्तिकामा उल्लेख छ ।

रातो जङ्गली च्याउ उम्रिन निश्चित तापक्रम र आद्र्रता चाहिन्छ । मध्यजेठदेखि मध्यअसारसम्म र मध्य भदौ देखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो । म्याग्दीको गुर्जा, लुलाङ, मुदी, चिमखोला, मुना, कुइने, मङ्गले, घ्याँसीखर्क, राम्चे, घोडे पानी लगायत माथिल्लो भेगका बस्ती तथा जङ्गलमा रातोच्याउ व्यापारिक रूपमा सङ्कलन हुन्छ ।

जङ्गलबाट टिपेको च्याउ छिट्टै बिग्रने भएकाले सङ्कलकहरूले टुक्रा पारेर घाममा सुकाउँछन् । घाम नलागेका बेला भने अँगेनाको माथि भार बनाइ भकारी राख्ने र त्यसैमाथि च्याउ राखेर ताप र धुवाँले सुकाउँछन्, पुनले भने ।

डिभिजन वन कार्यालयका अनुसार म्याग्दीका जङ्गलबाट वार्षिक ३० क्विन्टल रातो च्याउ उत्पादन हुन्छ । जिल्ला बाहिर बिक्रीका लागि पठाउँदा च्याउमा वनले प्रतिकिलो रु १० का दरले राजस्व लिने गरेको छ । जिल्लाभित्र च्याउ सङ्कलन र बिक्रीका लागि अनुमति चाहिँदैन । सहर, बजारमा बस्ने लेकाली तरकारीको स्वाद नबिर्सेका उपभोक्ताले गाउँबाट रातो च्याउ किनेर लैजाने वा आफन्त मार्फत मगाउने व्यवसायी छन्तयालले बताए ।

रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ । बस्तीबाट टाढाको जङ्गलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन्छ, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन् । रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने हुँदैन, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया