रातो कागज

काठमाडौँ, ११ भदौः यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारवाहीमा परिने भनी गरिएका प्रचारमा सत्यता नभएको स्पष्ट पारेको छ ।
विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट वडान नगर्ने सवारीधनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
विभागले तत्काललाई कुनै पनि प्रकारको दण्ड जरिवाना नगरिने र आफू अनुकूल सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वःस्फूर्त ढङ्गले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटाइजेन कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।
विभाग एवम् प्रदेश कार्यालयबाट जडान सहजताका लागि उक्त स्थानमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारी साधनको सहजताका लागि आवश्यकता अनुसार थप प्रबन्ध गरिएको जानकारी दिएको छ ।
इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषाका सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सम्झौतामा उल्लेख भए बमोजिम अग्रेजी लिपी प्रयोगमा कुनै संवैधानिक र कानुनी त्रुटी नदेखिएको भनी फैसला भएको स्पष्ट पारेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया