Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आफूलाई मूलधार ठान्नेहरु आज पनि जनयुद्धलाई आतंककारी भनेर पढाउन रमाउँछन् : प्रचण्ड

News and Updates
2 घण्टा अघि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धलाई अछुत ठान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले जनयुद्धको योगदानलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘संघर्षमा सिरानचोक’ पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रचण्डले माओवादी जनयुद्धलाई सकारात्मक रूपमा लिपिबद्ध गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो । तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो । यसमा मौलिक सौन्दर्य चेतना छ ।’

उनले जनयुद्धलाई आंतककारीका रूपमा व्याख्या गरिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । ‘जो आफूलाई मूलधार ठान्छन्, उनीहरु आज पनि जनयुद्धलाई आतंककारी भनेर पढाउन रमाउँछन्,’उनले भने, ‘देश सामन्ती राजतन्त्रबाट गणतन्त्रमा आइपुगेको छ भने त्यस परिवर्तनको प्रमुख वाहक जनयुद्धको इतिहासलाई पाठ्यक्रममा राख्नु हाम्रो साझा जिम्मेवारी हो ।’

प्रचण्डले देशभरका पालिकाहरूमा भएका संघर्ष, बलिदान र ऐतिहासिक घटनाहरूलाई दस्तावेजीकृत गर्न आग्रह गरे । ‘सिरानचोकजस्तै हरेक वडाका आफ्नै बेथा छन्, आफ्ना मर्म छन्,’उनले भने, ‘यी मर्म र गाथालाई केन्द्रित गरेर संकलन गरियो भने ठूलो ऐतिहासिक सामग्री बन्न सक्छ ।’

उनले पार्टी, विचारधारा वा संगठनभन्दा माथि उठेर देशको परिवर्तनका प्रक्रियालाई लिपिबद्ध गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न लेखक, साहित्यकार, राजनीतिकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया