News and Updates

काठमाडौं । तीज भन्नासाथ छोरीचेलीहरुको मुहारमा उत्साह, रमाइलो र उल्लास झल्किन्छ । नयाँ साडी, रातो चुरा–पोते अनि गीत–संगीतसँगै नाचगान गर्ने र माइतीघर गएर रमाउने पर्वका रूपमा तीजलाई हेरिन्छ ।
तर जीवन सबैको एउटै र एकनास हुँदैन । कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन् । गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन् ।
त्यस्तै पात्रमध्ये खोटाङ दिक्तेल घरभई हाल ललितपुरमा चटपटे र पानीपुरी बेचेर गुजारा चलाइरहेकी तिला मगर पनि हुन् । उनी तीजलाई फरक ढंगले सम्झिन्छिन् । लकडाउनदेखि नै उनी यही व्यवसायमा रमाइरहे्की छिन् । परिवारमा दुई छोरा, दुई छोरी भए पनि उनी एक्लै बस्छिन् ।
‘बुढा(श्रीमान)को मृत्यु भएदेखि नै जीवन एक्लै बितेको छ,’उनी भन्छिन्,‘छोरीहरूले कहिलेकाहीँ हेर्छन् तर बिहे भइसकेका छोरीसँग के माग्नु रु छोराहरूले त झन् खासै वास्ता गर्दैनन् ।’ तिला दिदीलाई तीज भनेको अरुको रमाइलो मात्र हो । आफ्नै लागि भने त्यो नदिनु भएपनि हुने चाडझैं लाग्छ । ‘पैसा जम्मा गरेर साडी किन्ने त परको कुरा भयो, कोठा भाडा तिर्ने जति मात्र कमाइ हुन्छ,’उनी भन्छिन्, ‘अहिले तीजमा अरुले सजिएर रमाइरहेको देख्छु, तर मलाई भने कुनै अर्थ छैन । आफ्नो भन्ने कोही छैन, कहाँ गएर के गर्ने रु’
माइतीघरमा पनि अब उनलाई कसैले सम्झिँदैन । ‘बुबा–आमा हुनुहुन्न, त्यसपछि ठूलोबुबा, कान्छोबुबा कसैले पनि बोलाउनु भएको थाहा छैन् । माइती भन्ने ठाउँ नै छैन,’भारी मनका साथ उनले आफ्नो पीडा सुनाइन् ।
उदयपुर गाइघाटकी सन्जुदेवी चौधरीको पनि कथा उस्तै छ । उनी करिब २० वर्षदेखि काठमाडौंमा मकैं बेचेर आफ्नो जीवन गुजार्दै आएकी छिन् । बाहिरबाट देख्दा अरु महिलासँगै उनी पनि दर खाने तयारीमा व्यस्त देखिन्छिन्, तर उनको मनभित्र भने अपूरो इच्छाले चिरा परेको छ । ‘हामीले पनि दिनकै दर खाइरहेका छौ । सहकारी, र मकै साउनीहरुले बोलाएका छन् । त्यही जाने तर पैसा नभएकाले खासै खर्च गर्न सकिँदैन । भाकल राखेर, भगवानलाई सम्झेर तीज मनाउने हो,’उनी भन्छिन् ।
तीजमा माइती जाने चाहना उनको मनमा प्रबल छ । तर, आमा–बुबा संसारमा छैनन् । भाइ बुहारीहरुले कहिल्यै सम्झिदैनन् । ‘आमा–बुबा हुँदा मात्र माइती हुन्थ्यो, अब त माइती भन्ने ठाउँ पनि छैन । तीजजस्तो चाडमा माइतीको याद आउँछ तर के गर्ने, केही गर्न सकिँदैन,’उनी भन्छिन् ।
तीजलाई समाजमा खुशी, भव्यता र एकताको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ । तर सन्जुदेवी र तिलाजस्ता महिलाको कथा सुन्दा तीजको अर्को अनुहार देखिन्छ—पीडाको, एक्लोपना र अपूरो चाहनाको । वास्तवमा गरिबको चाडपर्व नआउने रहेछ भन्ने संकेत पनि गर्छ ।
आर्थिक सम्पन्न परिवारका छोरी–चेलीले नयाँ भेषभूषा र मीठा परिकारसहित गीत–संगीतमा रमाइलो गर्छन् । माइती जाने, साथी भेट्ने र हृदय हल्का पार्ने अवसरका रूपमा तीजलाई प्रयोग गर्छन् । तर दुःखसँग जीवनको हरपल बिताइरहेका महिला तीज नआउने भएपनि हुने चाडजस्तो अनुभव भने अवश्य गर्छन् ।
सन्जुदेवी र तिलाको जीवनमा साझा कुरा के छ भने—समाज र आफन्तबाट पाएको बेवास्ता । सन्जुदेवी भन्छिन्, ‘आफ्ना भाइ–बुहारीले कहिल्यै बोलाउँदैनन् ।’ तिला भन्छिन्, ‘छोराहरूले वास्ता गर्दैनन्, छोरीहरूको त आफ्नै संसार छ ।’
यी कथाहरु केवल व्यक्तिगत पीडा मात्र होइनन्, समाजमा अझैपनि चेलीहरूको अवस्था कस्तो छ भन्ने कठोर वास्तविकता हो । जबसम्म छोरी–चेलीलाई बराबरीको सम्मान र अपनत्व दिइँदैन, तबसम्म तीजजस्ता पर्वमा आधा समाज मात्र रमाउनेछ, बाँकी आधा त पीडाभित्रै डुब्नेछ ।
तीजलाई केवल साडी, चुरा, पोते, नाचगान र दर खानेलाई मात्र सीमित गरेर बुझ्दा यसले सबैलाई समेट्न सक्दैन । तीजको वास्तविक अर्थ हो—चेली चेलीबीचको माया, परिवारबीचको आत्मीयता, र दुःख–सुख साट्ने अवसर ।
सन्जुदेवी र तिलाजस्ता महिलालाई पनि त्यो अपनत्व महसुस गराउने हो भने, समाजले तीजलाई फरक ढंगले व्याख्या गर्नुपर्ने देखिन्छ । तीजमा रमाउने मात्र होइन, रमाउन नसक्ने चेलीको पीडा बुझ्न सक्ने संस्कार बनाउन जरुरी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया