Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बेथानचोकमा ‘कोसेली–घर’ सञ्चालन

रातो कागज
9 घण्टा अघि

काभ्रेपलाञ्चोक, ९ भदौः बेथानचोक गाउँपालिकामा कोसेली–घर’ सञ्चालनमा ल्याइएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा कोसेली घर सञ्चालनमा ल्याइएको हो ।

कोसेली घरको बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । उनले कोसेली घर थप व्यवस्थापनका लागि सहयोग गर्ने जनाउँदै उद्यमशीलता विकाससँगै आर्थिक समृद्धिमा कोसेली घर प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग समन्वय गरी प्रदेश सरकारले सहयोग गर्नेछ, उनले भने । प्रदेश सरकारको रु १८ लाख २१ हजार दुई सय ८५ र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारीमा रु ३६ लाख ४२ हजार पाँच सय ७० मा कोसेली घर सञ्चालनमा ल्याइएको हो । सञ्चालित उक्त कोसेली घरबाट प्रत्येक वडामा उद्यमशीलता तालिम, बीउ पुँजी वितरण, महिला उद्यमी समूहबाट उत्पादित सामग्री खरिद तथा कोसेली घर सञ्चालनका लागि आवश्यक कार्य गरिने जनाइएको छ ।

गाउँपालिकाका अनुसार स्थानीय एक सय १० जना गृहिणी महिलाले उद्यमशीलता तालिम लिइसकेका छन् । जसमध्ये दुई महिला उद्यमी समूह गठन गरी रु एक÷एक लाखका दरले बीउ पुँजी वितरण गराइएको छ ।गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आर्थिक समृद्धिका लागि गृहिणी महिलालाई उद्यमसँग जोड्दै सशक्तिकरणको उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार सीप सिकेको महिलाद्वारा उत्पादित सामग्री साबुन, रैथाने पीठो, स्याउ, दुनाटपरी, चकटी, चोया खोस्टाबाट बनेका सामग्री कोसेली घरमा राखिएको छ । गाउँपालिकाका अनुसार वडा नं १ मा बुनाइ तालिम, सर्वोत्तम लिटो, सातु, बाटेको धूप, ३ नं मा कोलिन, सरफ, डल्लो साबुन, झोल साबुन, वडा नं ४ मा मखमलको जुत्ता, चप्पल र थैली बनाउने तालिम सञ्चालन गरिएको थियो ।

यस्तै वडा नं ५ मा सिलाइकटाई र वडा नं ६ मा अमिलो जातका फलफूलखेती तालिम सञ्चालन गरिएको थियो । गृहिणी महिला सशक्तिकरण कार्यक्रम काभ्रे सहित रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका ४० स्थानीय तहमा सञ्चालन भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया