Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गोकर्णेश्वर मेलाको तयारी पूरा

रातो कागज
3 घण्टा अघि

काठमाडौँ, ६ भदौ : प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ ।

बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले गोकर्णेश्वरमा गई आफ्ना बाबुका नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा शनिबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउने भएकाले मेलाका लागि लागि बिहीबारदेखि तयारी गरिएको छ । मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।

उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका—४ का वडाध्यक्ष जयराम महतले जानकारी दिए । मेला व्यवस्थापन गर्न आजैदेखि २०० जनाभन्दा बढी स्वयंसेवक परिचालन गरिएको उनले जानकारी दिए ।

व्यवस्थापनका लागि सात उपसमिति गठन गरेर तयारी गरिएको छ । यातायात व्यवस्थापन, आर्थिक, स्वयंसेवक परिचालन, स्वास्थ्य, खोजतलास, धार्मिक, समन्वय लगायत उपसमिति गठन गरिएका हुन् । शनिबार नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने गरी तयारी भएको समितिले जनाएको छ ।

औँशीको अघिल्लो दिन आज बिहानदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आउन थालेका छन् । टाढाटाढाका भक्तजन आजै आएर मन्दिर क्षेत्रमा ठाउँ व्यवस्थापन गरी बस्न थालेका हुन् । मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने भएकाले यो औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ ।यसदिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुका नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ ।

यस अवसरमा रसुवाको बेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ । पितृदेवो भव भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचि अनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । मृत बाबुका नाममा भने गोकर्णेश्वर लगायत तीर्थस्थलमा गई श्रद्धा भक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

यसदिन थोरै दान गरे पनि हजारौँ गुणाबढी फल पाइने पुण्य पर्व भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यसदिन घर घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व पनि मनाइन्छ । वर्षभरि देवकार्य तथा पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश यसैदिन वैदिक मन्त्रोच्चारण पूर्वक छेदन गरी घरमा राखिन्छ ।

शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया