रातो कागज

झापा, ६ भदौः मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि प्रशिक्षक बनेर गाउँका अरु महिलालाई स्वरोजगार बनाउने अभियानमा हुनुहुन्छ ।
“रोजगारीका निम्ति कसैको मुख नताक्ने दृढ निश्चयका साथ सुरुमा नगरपालिकाबाट सिलाइकटाइ तालिम लिएँ, हातमा सीप भएपछि आफैँ मालिक बन्न सकिने अनुभव सनाउँदै उहाँ भन्नुहुन्छ, एड्भान्स तालिम लिएपछि अरु दिदीबहिनीलाई सीप सिकाउन थालेकी छु । घरमै बसेर सिलाइ सम्बन्धी व्यवसाय समेत गरेर गरिखाने भएकी छु ।
मेचीनगर नगरपालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यले लघु उद्यमी समूह गठन गरेको छ । समूहमा आबद्ध महिलालाई बानियाँ लगायतका प्रशिक्षकले तालिम दिँदै आएका छन् ।
लघु उद्यमी समूह मेचीनगरकी अध्यक्ष चन्द्रकला रिजालले अचार बनाउने र च्याउ फलाउनेसम्बन्धी एडभान्स तालिम लिएका छन् । हाल उनले बिर्तामोड नगरपालिकाका महिलालाई अचार र च्याउ सम्बन्धी प्रशिक्षण दिँदै आएका छन् । मैले पनि तालिम लिएरै सीप सिकेको हुँ, उनी भन्छन्, “अधिकांश महिलाहरू घरमा बसेर आफू बेरोजगार भएको गुनासो गर्छन्। म उनीहरूलाई सीप सिकेर उद्यमी बन्न आग्रह गर्छु ।
गरिबी निवारणका लागि मेचीनगरको लघु उद्यमी समूह मार्फत नगरपालिकाले १०८ जनालाई सीप सिकाएर उद्यमी बनाएको मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बताए । तालिम पाएका १०८ जनामध्ये १०६ जना महिला छन् ।
नगरपालिकाको तालिम पाएकाहरू अधिकांश उद्यमी बनेका छन् १२ जना प्रशिक्षक भएका छन् । उनीहरूले विर्तामोड, कचनकबल, रोङ, दमक लगायतका पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छन् । लघु उद्यम समूहले सिलाइकटाइ, ‘ब्युटीपार्लर’, केश विन्यास एवं कर्तन झोला बनाउने, विद्युत् जडान लगायत व्यावसायिक तालिम दिँदै आएको छ ।
मेचीनगर वडा नं ७ का अध्यक्ष प्रह्लादमणि ओलीले सिलाइकटाइसम्बन्धी भर्खरै तालिम लिएका ४३ जना महिलालाई उद्यमी बनाउनका लागि ४३ वटा सिलाइ मेसिन प्रदान गरिएको बताए । मेसिन खरिदमा नगरपालिकाले ८० प्रतिशत र लाभानुग्राहीले २० प्रतिशत लागत साझेदारी गरेका हुन् ।
हालै नगरपालिकाले सीप विकास तालिमअन्तर्गत सिलाइकटाइमा १८ जना, ब्युटीपार्लरमा चार जना, सैलुनमा चार जना, झोला बनाउनेमा २७ जना, एडभान्स झोला बनाउने तालिममा ३६ जना र विद्युत् जडानमा १५ जनालाई प्रशिक्षण दिएको छ ।
एड्भान्स तालिममा सहभागी भविता रिजालले झोला बनाउने तालिम लिएको जनाउँदै त्यसबाट जीविकोपार्जनमा मद्दत पुग्नेमा आफू विश्वस्त रहेको बताउँदै भने, “झोला बनाएर कमाएको रकम छोराछोरीको खाजामा उपयोग गर्दै आएकी छु । उनी भन्छन्, “अझै मिहेनत गरेर परिवारको गर्जो टार्न सक्ने आँट छ ।
मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले तालिम लिएका महिला उद्यमीहरूले बनाएका झोलालगायत सामान नगरका विद्यालयमा प्रयोग गर्न अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरिने बताएका छन् । उनले उत्पादित सामग्रीको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया