Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम

रातो कागज
2 घण्टा अघि

बनियानी झापा, ४ भदौः यहाँको कचनकवल गाउँपालिका ६ कार्कीझोडाका पदम गौतम खत्री अहिले व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ । करिब २५ वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश पाएपछि जीवनको दोस्रो अध्यायका रूपमा उनले कृषिलाई अगालेका हुन् ।

विसं २०७४ मा प्रहरी नायब निरीक्षकबाट अवकाश पाएको जनाउँदै गौतमले २०७८ सालदेखि व्यावसायिक कृषिलाई आफ्नो जीवनको नयाँ पाटो बनाएको बताए । उनले ‘एकीकृत कचनकवल कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर पाँच कट्ठा भन्दा बढी जमिनमा कुरिलो, ड्रागन फ्रुट र परीक्षणका रूपमा आभोकाडोखेती सुरु गरेका छन् ।

दुई वर्षको अवधिमा उनले ड्रागन फ्रुटखेतीबाट वार्षिक रु दुई लाख आम्दानी गर्न थालेका बताउँदै भने, कुरिलोखेतीले तीन वर्षमा रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी दिएको छ ।

कृषिमा गरेको लगानीले सकारात्मक परिणाम दिन थालेपछि गौतमले आफू भविष्यप्रति आशावादी रहेको बताए । कचनकवल गाउँपालिका क्षेत्रमा व्यावसायिक रूपमा कुरिलोखेती गर्ने आफू पहिलो कृषक भएको उनको भनाइ छ । अरुले व्यक्तिगत प्रयोजन वा थोरै मात्रामा रोपेका होलान्, उनले भने, “तर, व्यवस्थित र व्यावसायिक रूपमा उत्पादन गर्ने काम मैले गरेको हुँ ।

बजारको अभाव कृषिकर्ममा लाग्नेहरूका लागि मुख्य चुनौती रहेको गौतमले बताए। स्थानीय बजारको अभाव छ”, उनले भने, “उत्पादन बेच्न बिर्तामोड धाउनुपर्छ । उनले कुरिलोलाई अझै पनि स्थानीय बजारमा औषधिका रूपमा मात्र हेर्ने गरिएको बताउँदै सोही कारणले स्थानीय बजारमा खपत नहुने भएकाले ठूला बजारमा पु¥याउनुपर्ने बाध्य रहेको उल्लेख गरे।

गौतमले ५० वटा आभोकाडोका बिरुवा परीक्षणका रूपमा रोपेका छन् । यसबाट तत्काल आम्दानी नभए पनि भविष्यमा सम्भावना रहेको उनको बुझाइ छ । कृषिलाई थप व्यावसायिक बनाउन उहाँले गत वर्ष कृषि ज्ञान केन्द्रबाट युवा लक्षित कार्यक्रम अन्तर्गत रु एक लाख अनुदान लिएको जनाउँदै उक्त रकम पर्याप्त नभएको बताए ।

कुरिलो फागुनदेखि सुरु भई करिब छ महिनासम्म निरन्तर उत्पादन हुने भएकाले बजार सम्भावना प्रशस्त रहेको गौतमको भनाइ छ । माग बढी भए पनि प्रशोधन र भण्डारण प्रणालीको अभावमा किसान मारमा परेका उनले बताए । कृषिजन्य उत्पादनलाई मूल्य सुनिश्चितता दिने नीति, प्रशोधन र भण्डारण प्रणालीको विकास तथा सहुलियत ऋण योजनामा तीनै तहको सरकार लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी सेवामा जीवनको महत्त्वपूर्ण समय बिताउनुभएका गौतम अहिले माटोसँग जोडिँदै ‘सुरक्षित भविष्य कृषिमै छ’ भन्ने विश्वाससहित आत्मनिर्भरता र व्यावसायिक सम्भावनाको बाटोमा अघि बढिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया