Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रासस र एएनआईबीच सहकार्य विस्तार हुने

रातो कागज
2 घण्टा अघि

काठमाडौँ, ३ भदौः राष्ट्रिय समाचार समिति रासस र भारतको प्रतिष्ठित समाचार एजेन्सी एएनआईबीच सहकार्यसम्बन्धी सम्झौता पुनरावलोकन गरी अद्यावधिक गर्ने विषयमा छलफल भएको छ । रासस केन्द्रीय कार्यालयमा आज रासस र एएनआईबीच समाचार आदान प्रदान लगायतका विषयमा छलफल भएको हो ।

त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले पछिल्ला दिनमा गरेका संस्थागत सुधार र विकासका प्रयासबारे जानकारी गराए । उनले राससको पुस्तकालयलाई पत्रकार, पत्रकारिता अध्ययन गर्ने विद्यार्थी र अनुसन्धानकर्ताका लागि गन्तव्य बनाउने उद्देश्यले स्तरोन्नतिको काम अगाडि बढाइएको बताए ।

अध्यक्ष झाले भने, “श्रव्यदृश्य सामग्री उत्पादन र वितरणमा अग्रणी मानिने एएनआईसँगको सहकार्यबाट राससको श्रव्यदृश्य सेवा अझ प्रविधिमैत्री र गुणस्तरीय बनाउन थप योगदान पुग्नेछ ।

एएनआईका कार्यकारी उत्पादन व्यवस्थापक रवि खन्डेलवालले रासस र एएनआईबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

राससका महाप्रबन्धक सन्दीप राई, प्रधान सम्पादक उत्तम सिल्वाल, आलेख शाखाका प्रमुख एवम् सञ्चालक समिति सदस्य कृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा कार्यकारी अध्यक्ष झाले राससले प्रकाशन गरेको ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ एएनआईका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो । रासस र एएनआईबीच समाचार आदानप्रदानका लागि सन् २०१७ नोभेम्बरमा सहकार्य सम्झौता भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया