रातो कागज

डेनमार्क । जुलाई ३१, २०२५ मा सम्पन्न नवौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), डेनमार्कको नयाँ कार्यसमितिले औपचारिकता पाएको छ ।
कोपनहेगनमा आइतबार शपथ ग्रहण गर्दै कार्यसमितिले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको हो ।
नयाँ कार्यसमितिका अध्यक्ष सुरेश पुन लाई निर्वाचन आयुक्त भुवनध्वज थापाले शपथ ग्रहण गराएका थिए भने बाँकी पदाधिकारीहरूले पनि अध्यक्ष पुनको उपस्थितिमा शपथ लिँदा नयाँ कार्यसमितिले औपचारिकता पाएको हो ।
डेनमार्कमा रहेका नेपाली समुदायप्रति आफ्नो शुभकामना व्यक्त गर्दै डेनमार्कका लागि नेपाली राजदूत तथा प्रमुख अतिथि सुम्निमा तुलाधरले नयाँ कार्यसमितिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्य गर्नु आवश्यक रहेको बताइन् ।
उनले यस अवसरमा सबैलाई एकताको सन्देश प्रवाह गर्दै डेनमार्कमा रहेका सम्पूर्ण नेपालीको साझा भविष्य निर्माणमा सक्रिय हुन जोड दिइन् ।
नेपालीहरू एक अर्कामा फुटेर होइन जुटेर अघि बढ्न आग्रह गरिन् । कार्यक्रममा उपस्थित प्रवासी नेपाली मञ्च डेनमार्कका अध्यक्ष रविन कार्कीले नयाँ कार्यसमितिलाई बधाई दिँदै आगामी दिनहरूमा डेनमार्कमा रहेका गैर आवासीय नेपालीहरूको समस्याको समाधानका साथै नेपाली भाषा, संस्कृति र एकताको प्रवद्र्धनमा अग्रसर हुन सुझाव दिए ।
उनले नयाँ कार्य समिति वैधानिक ढङ्गबाट केन्द्रको निर्देशनबाट बनेकाले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति तथा नयाँ कार्यसमितिका अध्यक्ष सुरेश पुनले प्राप्त जिम्मेवारी गहन रूपमा लिएको उल्लेख गर्दै, एनआरएनए डेनमार्क एक साझा संस्था भएकाले गुट उपगुटको राजनीतिक दुर्गन्ध नफैलाउन आग्रह गरे । विधि र विधानको बाटोबाट आफ्नो टिम तयार भएकाले कसैको बहकाउमा कागजी अभियानले वास्तविकता नलुक्ने र कसैले भ्रम छर्न खोजे त्यो पतनको बाटो मात्र भएको उल्लेख गरे । अध्यक्ष पुनले नयाँ कार्यसमितिले संस्था र गैर आवासीय नेपालीको हितमा सधैँ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त भुवनध्वज थापाले आइसिसीको निर्देशन अनुसार निर्वाचन विधिसम्मत रूपमा सम्पन्न भएको र नयाँ कार्यसमितिको गठन पनि कानुनी र संस्थागत प्रक्रिया अनुसार नै भएको बताए ।
उनले डेनमार्कमा गैर आवासीय नेपाली संस्था एउटै हुने र कसैलाई चित्त नबुझे वार्ता र छलफलबाट सम्भव हुने भएपनि आफ्ना प्रयास असफल भएका र वैधानिक बाटोबाट कार्यसमिति तयार गरी समाधान खोजिएकाले यसबारे प्रश्न उठाउन नहुने पनि स्पष्ट पारे ।
नव निर्वाचित उपाध्यक्ष अमृत रिजालले स्वागत मन्तव्यमा एनआरएनए डेनमार्कको नयाँ कार्यसमिति गुटगत सङ्घर्षको परिणाम नभई विधानको कार्यान्वयनको नतिजा भएको बताएका छन्।
साथै कार्यक्रममा निवर्तमान आइसीसी युवा संयेजक तथा पूर्वअध्यक्ष रबिन्द्र खड्काले एनआरएनको विधान तथा आधिकरिकताका बारेमा जानकारी गराएका थिए ।
उनले एनआरएनए बिशुद्ध सामाजिक संस्था भएकाले सबै गैरआवासीय नेपालीको हितमा रहेर काम गर्न नयाँ कार्यसमितिलाई सल्लाहसमेत दिए । उनले एनआरएनए डेनमार्कका विषयमा कसैले भ्रम छर्दै हिँड्न नहुने र वैध संस्था र वैध कार्यसमितिले कानुनी मान्यताका आधारमा नै अघि बढ्नपर्नेमा जोड दिए ।
नव निर्वाचित पदाधिकारीहरूको अध्यक्षः सुरेश पुन, उपाध्यक्षहरूः अर्जुन चौलागाईं र अमृत रिजाल, महासचिवमा शैलेन्द्र राई, सचिवहरूमा हरितमणि न्यौपाने, ध्रुव घिमिरे, रूपचन बल (मनोनित) छन् । त्यस्तै युवा संयोजकान प्रकाश बुदुजा, कोषाध्यक्ष, राकेश श्रेष्ठ, सह–कोषाध्यक्ष मनोज न्यौपाने, महिला संयोजक उषा अधिकारी, सदस्यहरू सुरेश जोशी, सरोज श्रेष्ठ, अजित देवकोटा, राहुल देवन, ध्रुव खनाल, दीपक थापा, प्रकाश पाण्डे र आइसीसी सदस्य वरदान पोख्रेल रहेका छन् ।
एनआरएनए डेनमार्कको अघिल्लो कार्यसमिति कमलराज शर्मा नेतृत्वमा रहेको र उक्त समूह भने वर्तमान गठित समूहसँग असन्तुष्ट व्यक्त गर्दै आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया