रातो कागज

तनहुँ, ३ भदौः यहाँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा रु १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो ।
पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाले जनाएको छ ।
ट्रकलाई ‘टिप’ पुगेपछि बिक्रीका लागि पठाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “व्यास नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्यलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी भण्डारण गर्ने गरिएको छ ।
उनका अनुसार रेडबुललगायत आल्मुनियम प्रतिकेजी ६०, फलाम प्रतिकेजी ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कपी १६ र किताब १४ दररेट कायम गरिएको छ ।
नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको हो ।
नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टनको हाराहारीमा कुहिने फोहर सङ्कलन हुँदै आएको छ, उनले भने, “पछिल्लो समय कबाडीको महत्व बुझ्न थालेपछि अन्य मानिसले पनि सङ्कलन गरी बिक्री गर्न थालेका छन् ।
कुहिने फोहरलाई नगरले व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ ।
नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट आम्दानी गर्न थालेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया