रातो कागज

कञ्चनपुर, ३ भदौः शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएका कुकुरमा पहिलोपटक सो सङ्क्रमण देखापरेको हो ।
पशु विकास शाखाका पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार बाह्य क्षेत्रबाट खरिद गरेर ल्याइएको कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । उनले भने, पार्वो भाइरसविरुद्धको खोप दिने कार्यसँगै कुकुर निकै कमजोर देखिएकाले स्लाइनपानी ग्लुकोज चढाएर उपचार सुरु गरेका छौँ ।
उनका अनुसार छ महिनादेखि दुई वर्ष उमेर समूहका कुकुरलाई यस भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिने गर्दछ । बाह्य क्षेत्रबाट कुकुरका छाउराछाउरी ल्याउने लैजाने क्रममा पार्वो भाइरस सङ्क्रमण हुने उच्च सम्भावना रहने जनाइएको छ ।
पार्वो भारइरस सङ्क्रमण भएको कुकुरको सम्पर्कमा रहेका अन्य कुकुरलाई पनि यो भाइरस सर्ने प्रवल सम्भावना रहन्छ, त्यही भएर सम्पर्कमा रहेका कुकुरलाई भाइरस सङ्क्रमण भए÷नभएको बारे अनुसन्धान गरिरहेका छौँ, पशु चिकित्सक पाण्डेयले भने । गर्मीका बेला यस भाइरसको सङ्क्रमण कुकुरमा बढी देखिने गरेको छ ।
पार्वो भाइरसको सङ्क्रमण स्थानीय जातका कुकुरमा थोरैमात्र हुने भए पनि घरमै पालिने एक्जोटिक ब्रीडहरू बाह्य देशबाट ल्याइने विशेष प्रजातिका कुकुरमा बढी देखापर्ने गरेको छ । पार्वो सङ्क्रमण भएका कुकुरमा रगत सहितको पातलो दिसा हुने, वाकवाकी लाग्ने, कुकुर चिसो भएको ठाउँ, झाडीमा बस्न रुचाउने, दिसा गन्हाउने, खानापानीमा रुचि नराख्नेलगायत लक्षण देखापर्ने गर्दछन् ।
यस्तो लक्षण देखिए जतिसक्दो चाँडो उपचारका लागि पशु चिकित्सालयमा लैजानु पर्दछ, तुरुन्त उपचार प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ, यो भाइरस सङ्क्रमण भएका कुकुर मर्ने दर उच्च रहने गर्दछ । यस भाइरसबारे सर्वसाधारणलाई जानकारी नभएकाले जनचेतना मार्फत जानकारी दिनुपर्ने हुन्छ, चिकित्सक पाण्डेयले भने ।
शुक्लाफाँटा नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार यो भाइरस रोकथाम गर्न सकिने खालको भएकाले पालकले समयमै खोप लगाइदिएमा कुकुरको ज्यान बचाउन सकिन्छ । कुकुरलाई सङ्क्रमण हुन नदिनका लागि जन्मिएको छ देखि आठ हप्ताको कुकुरका छाउराछाउरीलाई पार्वो भाइरसविरुद्धको नियमित खोप लगाउनुपर्ने हुन्छ । मौसममा आएको परिवर्तनका कारण रोगको सङ्क्रमण देखापरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया