Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

स्वास्थ्य सेवा प्रवाहमा आत्मनिर्भरताको आवश्यकता छ : मन्त्री पौडेल

News and Updates
4 घण्टा अघि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा डिजिटल पीसीआर र अनलाइन भेण्डिङ मेसिनको उदघाटन गर्दै स्वास्थ्य सेवा प्रवाहमा आत्मनिर्भरताको आवश्यकता औंल्याएका छन् ।

पौडेलले चिकित्सकीय परीक्षणका लागि देश बाहिर निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै नेपालमै सबै परीक्षण हुनसक्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले भने, ‘चिकित्सकीय परीक्षणका निम्ति पनि आत्मनिर्भर हुन नसक्ने हो भने स्वास्थ्य सेवालाई व्यवस्थित गर्न सक्दैनौं । नेपालमा सबै परीक्षण यही (टेकु प्रयोगशाला) मा हुने गरौं ।’

उनले सरकारी तथा सामूदायिक सबै अस्पतालहरूबाट परीक्षणका लागि नमूना यही प्रयोगशालामा ल्याउने व्यवस्था मिलाउनु आवश्यक रहेको बताए ।

‘सेवा विस्तारमा यसलाई नयाँ कदम मान्नुपर्छ । डिजिटल पीसीआर र अनलाइन भेण्डिङ मेसिन सुधारका निम्ति थप आमूल परिवर्तन जरुरी छ,’उनले भने ।

मन्त्री पौडेलले प्रयोगशालालाई अझै व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ उपकरण तथा प्रविधिको प्रयोगमा जोड दिए ।

‘यस प्रयोगशालालाई विस्तारित ढंगबाट कसरी विकास गर्न सकिन्छ वा नयाँ प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ, थप सुविधा कसरी दिन सकिन्छ, त्यसमा ध्यान दिन सक्नुपर्छ,’उनले भने ।

नागरिकलाई प्रभावकारी सेवा दिनु पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै उनले प्रयोगशालाले सस्तो शुल्कमा सेवा दिई आम्दानीका साथै राजस्व संकलनमा समेत योगदान दिइरहेको उल्लेख गरे ।

‘हामीले बढी सक्रिय भएर नागरिकलाई सेवा दिन जरुरी छ । यस प्रयोगशालाले सेवा शुल्कबाट आम्दानी बढाउनुका साथै राज्यको राजस्वमा समेत भूमिका खेलेको छ,’मन्त्री पौडेलले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया