Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पूर्वाञ्चल विश्वविद्यालयलाई एमबीबीएस सञ्चालनको अनुमति

रातो कागज
2 घण्टा अघि

विराटनगर । स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले अखेर गोठगाउँस्थित स्कूल अफ मेडिसिनमा एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बिहीबारको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।

यो उपलब्धि विश्वविद्यालयको इतिहासमा एक महत्वपूर्ण मीलका पत्थरका रूपमा रहेको जनाइएको छ । लामो समयसम्मको असफल प्रयासपछि सुन्दरहरैचावासीको निरन्तर आवाज, प्रदेशबासीको समर्थन, सम्पूर्ण विश्वविद्यालय परिवारको सामूहिक टिम–एफर्ट, नव–नेतृत्वको चुस्त व्यवस्थापन, पूर्वाधारको तयारी र नेपाल सरकारको निर्णायक अनुमतिले यो सपना साकार भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले यस दिनलाई ‘हाम्रो परिकल्पना साकार भएको शुभ दिन’ भनेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, विश्वविद्यालयका भिजनरी उपकुलपति प्रा.डा. बिजु कुमार थपलिया, सांसद डा. शेखर कोइराला र डा. सुनिल शर्मा, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, चिकित्सक, कर्मचारी, स्थानीय राजनीतिक दल र सरोकार समाज सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

ओझाले यो उपलब्धि स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा कोशी प्रदेशका लागि एक वास्तविक ‘गेम चेन्जर’ हुने दाबी गरेका छन् ।

उनका अनुसार, अब प्रदेशका लाखौँ नागरिकले आफ्नै घरआँगनमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्, र भविष्यका तेजस्वी तथा दक्ष चिकित्सकहरू यही प्रतिष्ठित कलेजबाट निस्कने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया