Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेपालभर लजिस्टिक्स रूपान्तरणका लागि उपाय नेपालले २८ करोडको लगानी सुरक्षित गर्यो

रातो कागज
2 घण्टा अघि

काठमाडौं । लजिस्टिक्स क्षेत्रमा अग्रणि संस्था उपाय नेपालले लजिस्टिक्स रुपान्तरणका लागि २८ करोड रुपैयाँ बराबरको लगानी सुरक्षित गरेको छ । उपायले डोल्मा इम्प्याक्ट फण्ड बाट २८ करोड रुपैयाँ बराबरको लगानी सफलता पूर्वक सुनिश्चित भएको जनाएको हो ।

यस लगानीले नेपालभरि लजिस्टिक्स प्रणालीलाई छिटो, प्रभावकारी र समावेशी बनाउन उपायको यात्रामा एक महत्वपूर्ण उपलब्धि हुने कम्पनीले जनाएको छ । साथै, उपायले यस चरणमा आफ्नो साथी, परिचित तथा परिवारजनहरूबाट २७ करोड थप लगानी संकलन गर्दै ‘क्वार्टरब्याक राउण्ड दुई’ मार्फत निजी रूपमा यो चरण व्यवस्थापन गर्ने प्रक्रियामा रहेको छ, जसले कुल लगानी ५५ करोड पु¥याउने छ ।

सन् २०१९ मा व्यवसाय, चालकहरू र ग्राहकहरूलाई एकीकृत डिजिटल प्लेटफर्ममार्फत जोड्ने लक्ष्यका साथ स्थापना गरिएको उपायले काठमाडौंमा आधारित सानो स्टार्टअपबाट सुरुवात गरी आज राष्ट्रिय स्तरको अग्रणी अनडिमाण्ड, इन्टरप्राइज तथा अन्तरसिटी लजिस्टिक्स सेवा, घर–घर डेलिभरी तथा थर्ड पार्टी लजिस्टिक्स वेयरहाउजिङ सेवासम्म विस्तार गरेको छ ।

आज, उपायले हजारौं व्यवसायहरूका लागि डेलिभरी सेवा प्रदान गर्दै नेपालको लजिस्टिक्स नेटवर्कलाई सशक्त रूपमा समर्थन गर्दै आएको छ ।

 

अहिलेसम्म, उपायाले कुल २०० करोड रुपैयाँ भन्दा बढी लगानी संकलन गरिसकेको छ । यस चरणसहित डोल्मा इम्प्याक्ट फण्डबाट उपायले कुल ७१ करोड रुपैयाँ प्राप्त गरिसकेको छ, जसले उपायको विकास यात्रा भरिमा प्रमुख र स्थायी लगानी साझेदारको भूमिका निर्वाह गरेको छ ।

उपायका प्रबन्ध निर्देशक तथा सह–संस्थापक सुमन रायमाझी भन्छन,“यो लगानी केवल पूँजी संकलन मात्र होइन—यो समग्र ईकोसिस्टमलाई एकत्रित गर्ने उद्देश्यमा टेकेर गरिएको हो । जसमा राइड, फुड, सामान तथा कमर्स सबैलाई समेट्नेछ र व्यवसायहरूका लागि नयाँ अवसर तथा थुप्रै मानिसहरूका लागि जीविकोपार्जनको माध्यम सिर्जना गर्नेछ । अब हामी हाम्रो प्लेटफर्मलाई नविनतम सेवा सहित क्षेत्रीय बजारहरू जस्तै श्रीलंका तथा भुटानमा स्थानान्तरण गर्दै, नेपालको स्टार्टअप इकोसिस्टमको लागि नयाँ मापदण्ड स्थापनाको दिशातर्फ अघि बढ्नेछौं ।”

डोल्मा फन्ड म्यानेजमेन्ट (डोल्मा इम्प्याक्ट फण्ड) का प्रबन्धक संस्थापक तथा सीईओ टिम गोचर ओबिइले भने,“उपाय केवल लजिस्टिक्स समस्या समाधान गरिरहेको छैन — यो नेपालभरि दक्ष र दिगो लजिस्टिक्स नेटवर्क निर्माण गर्दैछ । तिनीहरूको बलियो कार्यान्वयन क्षमता, गहिरो स्थानीय ज्ञान र स्केलेबल प्रविधि नै दीर्घकालीन प्रभाव सिर्जना गर्नका लागि उपयुक्त साझेदार बनाउँछ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया