रातो कागज

काठमाडौँ, २९ साउनः प्रत्येक वर्ष भाद्रकृष्णपक्ष पञ्चमी तिथिमा गरिने कोलमतीघाटमा स्नान आज गरिँदैछ ।
कागेश्वरी मनोहरा नगरपालिका–४ मा रहेको कोलमतीघाट र यहाँ स्नान गर्नुको महत्त्वका बारेमा स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड नेपालमाहात्म्य मा वर्णन गरिएको छ । बाग्मती नदीको तीरबारे वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए ।
कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन गरिएको छ । कोललाई बराह भनिएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो, कोलमती बाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ, उनले भने ।
कोलमती र बाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्त्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको ती ग्रन्थमा वर्णन गरिएको छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।
यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई हाल पनि चौलनारायणका रूपमा पूजा आराधना गरिन्छ । नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल र त्यसको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो भन्ने गरिएको छ । कोलमती, चैलमती र बाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको र कोलमतीघाटमा सत्ययुगमा भगवान् विष्णु समेत आएर स्नान गरेको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । धार्मिक महत्त्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र ओझेलमा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया