Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

रातो कागज
15 घण्टा अघि

दोधारा चाँदनी कञ्चनपुर, २८ साउनः कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिए ।

बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ, उनले भने, स्थानीय प्रतिनिधि, सङ्घसंस्था, प्रहरी र स्थानीय व्यक्तिको उपस्थितिमा छाउगोठ भत्काइएको हो । गत असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीय कमला दमाइको छाउगोठमा बसेका बेला सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय यहाँका सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि छाउगोठ रहेका पालिकामा स्थानीय जनप्रतिनिधि र प्रहरीले छाउगोठ भत्काउन थालेका हुन् ।

यहाँको बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्टले पनि बेदकोटमा वडा ४ र १० ले २३ वटा छाउगोठ भत्काएको जानकारी दिए । हामीले छाउगोठ भत्काएका छौँ तर पुन ः छाउगोठ बनाइहाल्छन् कि भन्ने चिन्ता छ, उनले भने, छाउगोठ भत्काएका परिवारलाई बोलाएर अभिमुखीकरण गर्ने तयारीमा छौँ । उनले छाउगोठ बनाउने समुदायलाई कुरीतिका विषयमा सचेत गराउनुपर्ने जरुरी रहेको बताए ।

कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले वडामा छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको बताए । आज मात्रै हामीले १६ वटा छाउगोठ भत्काएका छौँ”, उनले भने, अहिले यहाँका नागरिक सचेत भएका छन् । पहिला जस्तो अवरोध भएको छैन ।

गत वर्षदेखि नै वडाले छाउगोठ भत्काउने अभियान चलाए पनि केही स्थानीयले अवरोध गरेपछि रोकिएको थियो । असार अन्तिम साता कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए कानुनअनुसार कारबाही र रु १० हजार जरिवाना गर्ने चेतावनी समेत दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया