Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विधि सम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल

News and Updates
5 घण्टा अघि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका वेथिति र अन्याय निरुपण हुने उपायभनेकै विधिको सही कार्यान्वयन भएको बताएका छन् । नेपाल कानून व्यवसायी परिषद्को ३२ औं स्थापना तथा आत्म मूल्याङ्कन दिवसका अवसरमा भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने कुरालाई बिर्सन नमिल्ने बताए ।

उनले भने ‘विधिको पूर्ण पालना गरी न्यायपूर्ण रितिथिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको हुन्छ ’ । राष्ट्रपति पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला भएको बताउँदै जहाँसुकैका जोकोही भएपनि कानून व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक हुने स्पष्ट पारे ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनामा कानून व्यवसायीले पु¥याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा तपाईँहरूको अझै प्रभावकारी भूमिका रहने उनले विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले नागरिकको छिटो, सहज र सरल तरिकाले न्यायपाउने हकलाई साकार रुप दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानूनी जनशक्ति आवश्यक पर्ने बताएका छन् ।

उनले परिषद्ले आधुनिक समयको माग र जनचाहना अनुरुप यस प्रकारको उच्च व्यावसायिक दक्षता, नैतिकता एवम् यस क्षेत्रका मूल्यमान्यता र जवाफदेहिता वहन गर्ने कानूनव्यवसायी तयार गर्नुपर्ने गुरुत्तर दायित्व निर्वाहमा कुनै कसर बाँकी राख्दैन भन्नेमा आफू विश्वस्त रहेको बताए ।

राष्ट्रपति पौडेलले परिषद्ले कानून व्यवसायीको इजाजत प्राप्तिको लागि लिने परिक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानूनव्यवसायीको क्षमतालाई सिधै प्रतिविम्बित गर्ने भन्दै व्यावसायिक आचरणको अक्षरशः पालनाले यो पेशाको मर्यादा अभिवृद्धि गर्ने हुँदा यसको पालना भएनभएको निरन्तर निगरानी गर्नेतर्फ परिषद् सचेत र चनाखो रहनुपर्ने सुझाव दिए

फेसबुकबाट तपाईको प्रतिक्रिया