Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

“कृत्रिम बुद्धिमत्ता” (एआई) को सकरात्मक र नकरात्मक पक्षबारे आदिवासी जनजाति विद्यार्थी महासंघको चासो

रातो कागज
3 घण्टा अघि

काठमाडौं । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले आदिबासीहरुको भविष्य र एआई : आदिबासी जनजाती विद्यार्थीको दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । महासंघले प्रविधिसँगै अगाडी बढाउने उद्देश्यले एआईलाई प्राथमिकतामा राखेर कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका संस्थापक अध्यक्ष एवं सल्लाहकार राम बहादुर थापा मगरले प्रविधिको द्रुत विकासका बीच आदिवासी जनजातिहरूको हकअधिकार सुरक्षित गर्न सचेत र सक्रिय रहनुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “कृत्रिम बुद्धिमत्ता एआई अवसर र चुनौती दुवै हो। यो प्रविधिले हाम्रो भाषा, संस्कृति र पहिचानलाई संरक्षण गर्न सहयोग पुर्‍याउन सक्छ, तर यसले बाह्य प्रभावमार्फत लोप हुने खतरा पनि बढाउन सक्छ। त्यसैले आदिवासी समुदाय स्वयं प्रविधि सिकेर, त्यसमा सहभागिता जनाएर मात्र आफ्नो भविष्य सुरक्षित गर्न सक्छ।”

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्र प्रसाद चौधरीले विद्यार्थीस्तरमै प्रविधि र अधिकारको ज्ञान विस्तार गर्नुपर्नेमा जोड दिए। उनका अनुसार, “आजको पुस्ताले एआईलाई केवल उपभोक्ता भएर होइन, सिर्जनाकर्ता भएर आत्मसात् गर्नुपर्छ। हामीले प्रविधिको प्रयोगले हाम्रो सामुदायिक ज्ञानलाई डिजिटल रुपान्तरण गर्दै आगामी पुस्ताका लागि सुरक्षित राख्नुपर्छ।”

कार्यक्रममा एआइ विज्ञ नबराज गुरुङले कृत्रिम बुद्धिमत्ता एआईको आधारभूत सिद्धान्त, यसका प्रयोगका सम्भावना तथा आदिवासी समुदायका लागि यसले ल्याउने अवसर र जोखिमबारे विस्तृत जानकारी प्रस्तुत गरे।

यस्तै टहल थामीले ‘आदिवासीहरूको भविष्य र एआइ’ शीर्षक कार्य–पेपर प्रस्तुत गर्दै नीतिगत तयारी, स्रोतसाधनको पहुँच र प्रविधि–मैत्री शैक्षिक संरचना निर्माणको आवश्यकता औंल्याए। फ्लोर ओपन सेसनमा विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै विभिन्न प्रश्न राखेका थिए। सो क्रममा आदिवासी भाषाको डिजिटल संरक्षण, ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच, र एआइ प्रयोग गर्दा सम्भावित सांस्कृतिक चुनौतीबारे छलफल भएको थियो।

कार्यक्रममा विभिन्न आदिवासी जनजाति विद्यार्थी, अधिकारकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले एआइको प्रयोगमार्फत आदिवासी भाषाको अभिलेखीकरण, सांस्कृतिक सम्पदाको डिजिटल संरक्षण, र आर्थिक अवसर सिर्जनासम्बन्धी सुझावहरू पनि प्रस्तुत गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया