रातो कागज

पर्वत, २७ साउनः खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको जिल्लामा कृषिजन्य वस्तुको निर्यातबाट रु ६५ करोडभन्दा बढी भित्रिएको छ । मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१ र ८२ मा रु ६५ करोड ३० लाख ४७ हजारको कारोबार भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार आलु, धान, अलैँची, तकारीबाली, मकै र सुन्तला जातका फलफूलको बिक्रीबाट जिल्लाभरका किसानले उक्त कारोबार गरेका हुन् ।
यहाँबाट मुख्यतया आलु र सुन्तला बढी मात्रामा निर्यात हुने गर्छ भने धान, मौसमी तथा बेमौसमी तरकारी, अलैँची र मकै तथा काँक्रोको मूल बीउ उत्पादन गरी बिक्री गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीका अनुसार गत आवमा जिल्लामा खाद्यान्न बाली ७२ हजार ९५० मेट्रिक टन उत्पादन भएको छ । मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ पाँच हजार २२० मेट्रिक टन उत्पादन भएको छ ।
त्यसैगरी, जौँ ५४ मेट्रिक टन, फापर एक सय मेट्रिक टन, कोदो सात हजार ८५० मेट्रिक टन, दलहन बाली पाँच सय २७ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाभर तेलहन बाली तीन सय ६२ मेट्रिक टन, आलु २० हजार ३३० मेट्रिक टन, तरकारी १२ हजार ६१० मेट्रिक टन, सुन्तला चार हजार १५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा सुन्तलासहित अन्य जातका फलफूल गत आवमा १३ हजार ३०७ मेट्रिक टन उत्पादन भएको कार्यालयल जनाएको छ । कार्यालयका अनुसार आलुबाट गत आवमा रु सात करोड ७३ लाख, बीउ तथा तरकारीबाट रु करोड ११ करोड, सुन्तलाबाट रु २४ करोड ८४ लाख, मौरीको महबाट रु चार करोड ५० लाख, अलैँचीबाट रु एक करोड ८१ लाख भित्रिएको छ । यस्तै धान, कोदो र मकैसमेत उल्लेख्य मात्रामा निर्यात भएको केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्रले पछिल्ला आर्थिक वर्षहरुमा उत्पादनमुखी बालीनालीमा किसानहरूलाई आकर्षण बढाउँदै लगेको छ । यसका लागि किसानलाई हरेक कार्यक्रममा ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरेको छ । केन्द्रले गत आवमा रु चार करोडभन्दा बढी अनुदान वितरण गरेको जनाएको छ ।
केन्द्रले गत वर्ष दुई सय तीनवटा मिनी पावरटिलर, २५ वटा कुटानी पिसानी मिल, ४१ वटा स्पे्रयर, पाँचवटा ब्रसकटर वितरण गरेको छ । यस्तै सिँचाइका लागि पाँच हजार ९३५ मिटर लामो पाइप, सात सयवटा हिलट्याङ्क र तीन सय ६७ मिटर लामो कुलो मर्मतका लागि पनि अनुदान वितरण गरेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। यान्त्रिक उपकरणले किसानलाई लागत र समय घटाएको कार्यालयले जनाएको छ ।
पर्वतमा सञ्चालित मकै बीउ उत्पादन तथा मकैबाली प्रवर्द्धन आयोजना, परम्परागत बाली प्रवर्द्धन आयोजना, तरकारी, खाद्यान्न, फलफूल विकास प्रवर्द्धन आयोजनाजस्ता कार्यक्रम प्राथमिकतामा राखेर सञ्चालन गरिएको थियो । वर्षभरिमा दुई सय ८५ स्थानमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यालयले गत आवमा वित्तीय प्रगति ८० प्रतिशत र भौतिक प्रगति ८० दशमलव ७५ प्रतिशत गरेको जनाएको छ ।
गण्डकी प्रदेशअन्तर्गतको उक्त कार्यालयमा चालु आवका लागि रु पाँच करोड ६४ लाख १७ हजार बजेट विनियोजन भएको छभने सङ्घ सशर्ततर्फ रु २१ लख ४३ हजार बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया