Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

रातो कागज
1 घण्टा अघि

भोजपुर, २५ साउनः अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन् । यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन् ।

गत वर्षदेखि मूल्य वृद्धि भएपछि यहाँका किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका टेम्केमैयुङ–५ का शिवकुमार विष्टले बताए । गत वर्ष प्रतिमन अलैँची रु एक लाखदेखि रु एक लाख दुई हजारसम्म बिक्री भएपछि किसान उत्साहित भएको उनको भनाइ छ । मूल्य वृद्धि भएपछि परम्परागत बालीलाई हटाएर पुनः अलैँचीखेतीमा जुटेको उनले जानकारी दिए। केही वर्ष अघिसम्म मूल्यमा निरन्तर गिरावट आएपछि धेरै किसानले बगैँचा विस्तार गरेका थिएनन् ।

बजारमा अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान बगैँचा विस्तारमा लागेका अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बताए । राज्यले प्राविधिक सहयोग गरेमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने उनको भनाइ छ । रोग, कीरा नियन्त्रणका लागि प्रत्येक अलैँची जोनमा एक कृषि प्राविधिक राख्न आवश्यक रहेको उनले बताए ।

मूल्य बढेसँगै अलैँचीखेती क्षेत्र विस्तारमा किसान जुटेका छन्”, अध्यक्ष विष्टले भने, “केही ठाउँमा रोग कीराको प्रकोप बढेको छ । राज्यको तहबाट राम्रो प्राविधिक सहयोग भएमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने थिए ।

माटो परीक्षण गरेर नयाँ नर्सरी स्थापना गर्न सके अलैँची अझ राम्रो आम्दानीको स्रोत बन्ने अध्यक्ष विष्टले बताए । टेम्केमैयुङ–५ मा मात्र करिब एक सय ५० किसानले व्यावसायिक रूपमा अलैँचीखेती गरिरहेका छन् ।

जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ रामशाही, गोलशाही, डम्बर शाही, जिर्मले जातको अर्लँैचीखेती हुने गरेको छ । चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा हेलौछा, गुप्तेश्वरलगायत ठाउँमा अलैँचीको बढी खेती हुने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया