Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत

रातो कागज
3 घण्टा अघि

महोत्तरी, २३ साउनः महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ । साउन दोस्रो सातासम्म ३० प्रतिशत मुनि रहेको रोपाइँ अहिले ६० प्रतिशतको हाराहारी पुगेको हो ।

साउन तेस्रो साता प्रारम्भसँगै मनसुन अनुकूल हुँदै जाँदा रोपाइँको गति बढेको हो । हिजो बिहीबार साउन चौथो साता सुरु हउञ्जेलसम्म रोपाइँ ५७ प्रतिशत पुगेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।साउन तेस्रो साता प्रारम्भसँगै पानी पर्न थालेपछि रोपाइँले गति लिएको छ, पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएका हुन् कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भन्छन्, रोपाइँ आज ६० प्रतिशतको हाराहारी पुगेको छ । साउन मसान्तसम्म यसै गतिमा रोपाइँ बढ्नसक्दा ८० प्रतिशत नाघ्ने कार्यालयको अड्कल छ ।

साउन मध्ययता इनार, स्यालोट्यूवबेल र डिपबोरिङबाट तानिएको पानीले आकासे पानीको साथ पाउँदा कम समयमा बढी खेत हिल्याउन सहयोग पुगेको किसान बताउँछन् । पानी परिरहँदा भूमिगत तानिएको पानीले चाँडै खेत हिल्याउन सहयोग पुगेको किसानले बताएका छन् ।

परेकै पानीले खेत हिल्याउन त पुग्थेन, तर पानी परिरहँदा चाँडै खेत हिल्याउन सजिलो भयो” भङ्गाहा–३ कटैयाकी किसान रामराजी यादव भन्नुहुन्छ, “हाम्रो बस्तीमा लगभग धान रोपाइँ सकिएको छ ।” साउन १५ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएपछि त्यसअघिको धाजा फाटेको खेतको रोपो पनि लहलहाएको यादव बताउछन्।

साउन तेस्रो साता सुरु भएयता त्यसअघिको रोपोलाई परेकै पानीले सास भरेको किसान बताउँछन् । रोपाइँ गर्नचाहीँ अझै हामी इनार, डिपबोरिङबाट पानी तान्दैछाँै, तर पहिलेको रोपोलाई भने परेकै पानीले पुगेको छ बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव भन्छन्, “पुरानो रोपो लहलहाउन थालेपछि धान भित्रिने आस जागेको छ ।”

जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । यसमध्ये हिजोसम्म २५ हजार ७०० हेक्टर जग्गामा धान रोपिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । यो रोपाइँ ५७ प्रतिशतभन्दा केही बढी हो । अहिले पनि किसान रोपाइँमा धसिएका छन् । अबका दिन वर्षा अनुकूल रहे साउन मसानत सम्म रोपाइँ ८० प्रतिशत नाघ्ने बाली विज्ञसमेत रहेका कार्यालयका सूचना अधिकारी महतो बताउछन् ।

यसपालि लामो खडेरीले असार २२ भित्र सक्नुपर्ने बीउ रोप किसान अझै रोप्दैछन् । खरुअन कलम लगाउन यसअघिको रोपो नगाजिँदा अहिले पनि बीउ रोप नै चलाउनु परेको किसानको भनाइ छ । यसपाली बीउ ब्याडमै कैयौँ चोटी सुक्दा पटक–पटक ब्याड राख्नुपरेको औरही–७ भोइलका किसान मोहन महतो बताउछन् । अब अहिले पानीको केही अनुकूलता हुँदा बीउ भने अपुग बन्दै गएको महतोको भनाइ छ ।

खरुअन कलम, पहिलो बीउ रोप गाँजिएपछि त्यो उखलेर रोप्ने काम० पहिलो रोप नगाँजिदा छैन, बीउ ब्याडमै कतिपटक सुक्यो, अब अहिले बीउको हाहाकार पर्दैछ” महतोले किसानका दुःख सुनाए । बीउ, मल, सिँचाइजस्ता आधारभूत खेतीका कुरा नपाइँदा कहिल्यै समयमा खेती लगाउन नपाएको यहाँका किसानको बिलौना छ ।

महोत्तरी सहितका मधेशमा हिउँदे धान लगाउने स्थापित तालिका यसपाली मुख्यत पानीको अभाव र समयमा भरपर्दो बीउ नभेटिदापछि परेको हो । यहाँ हिउँदे धानखेतीका लागि जेठ तेस्रो साताभित्र ब्याड राख्ने, असार तेस्रो साताभित्र पहिलो शाही रोप बीउ रोप सक्ने र साउन मसान्तसम्म खरुअन रोप लगाउने परम्परागत तालिका छ । किसानले यो तालिकाभित्र पानी, बीउ र मल नपाइँदा हण्डर खानु परेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया