रातो कागज

दमौली तनहुँ, २३ साउनः जिल्लाका व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गर्न लागिएको नारेश्वरतालको बाँध र सिँचाइ ट्याङ्की अन्तिम चरणमा पुगेको छ । पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले गौरवको आयोजनाका रूपमा राखेको नारेश्वर तालमा माटो फाली पानी भर्ने तयारी गरिएको हो ।
सिँचाइ डिभिजन कार्यालयमार्फत विगत लामो समयदेखि रोकिएको बाँध निर्माण यसवर्ष पूर्णता पाएसँगै तालमा माटो फाली पानी भर्ने काम सुरु गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरपालिका द्वारा कार्यान्वयन गरिएको यो बहुउद्देश्यीय परियोजना २८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तालमा जम्मा भएको माटो निकाल्ने, पानी जम्मा गर्ने तथा वरिपरि आवश्यक संरचना निर्माण अगाडि बढाइने उनले बताए ।
तालसँगै यहाँबाट पानी तानेर जम्मा गर्ने ट्याङ्की पनि निर्माण गरिएको छ । आसपासका कृषकलाई आवश्यक सिँचाइका लागि पानी वितरण गरिनेछ । योसँगै स्थानीय कृषि उत्पादन वृद्धि हुने, पर्यटन विकासमा योगदान पुग्ने र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने नगरप्रमुख न्यौपानेले बताए ।
व्यास नगरपालिकाको आयोजना र गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब रु चार करोड अनुमानित लागतमा निर्माण भइरहेको यस परियोजना पूरा भएपछि व्यास नगरलाई कृषि, पर्यटन र वातावरणीय दृष्टिले नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको उहाँले विश्वास व्यक्त गरे । उनले भने, व्यास नगरपालिका यस परियोजनामार्फत कृषि, पर्यटन, रोजगारी र वातावरण संरक्षणमा समान रूपले योगदान पु¥याउने लक्ष्यसहित अगाडि बढिरहेको छ ।
नगरपालिकाले कृत्रिम ताल निर्माणका लागि स्थानीयवासीलाई जग्गा बापतको रु एक करोड ३७ लाख ८६ हजार ५०० मुआब्जा वितरण गरिसकेको छ । नारेश्वर खोलाको पानी थुनेर कृत्रिम ताल निर्माणका लागि २४ रोपनी ११ आना जग्गाका लागि स्थानीय वासीलाई मुआब्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
जग्गा अधिग्रहण बापत सिम र अब्बललाई प्रतिरोपनी रु पाँच लाख ५० हजारका दरले मुआब्जा वितरण गरिएको छ भने दोयमलाई प्रतिरोपनी रु पाँच लाख ७५ हजारका दरले मुआब्जा वितरण गरिएको जनाउँदै नगरप्रमुख न्यौपानेले २८ रोपनी क्षेत्रफलमा बाँध बाँधेर कृत्रिम ताल बनाउने योजना रहेको बताए ।
ताल निर्माणका लागि रु एक करोड ८४ लाखको लागतमा ठेक्का सम्झौता गरिएको छ । विसं २०७५ पुस २० गते गण्डकी प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ताल निर्माणको सुरुआत गरे पनि काम अगाडि बढ्न सकेको थिएन ।
तीन सय मिटर लम्बाइ रहने तालको चौडाइ २८ देखि ६८ मिटरको रहने व्यास–१० का वडाध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए । तालको औसत गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटरको रहनेछ भने कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । आठ मिटर बाँधको उचाइ रहने तालमा बाँधको चौडाइ छ दशमलव ८५ जगमा देखि एक दशमलव ५० मिटर टुप्पोमा रहनेछ । तालको क्षमता २५ हजारदेखि ३० हजार घनमिटरको रहने उनले जानकारी दिए ।
उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउँदै वडाध्यक्ष पोख्रेलले सोही अनुसार कार्ययोजना बनाइ कार्यान्वयन भइरहेका उल्लेख गरे । “ताल निर्माण भएसँगै यहाँका स्थानीयवासीले रोजगारी समेत पाउनेछन्, उनले भने, तालसँगै अन्य संरचना पनि निर्माण भएपछि पर्यटक आकर्षित गर्न सकिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया